८ असार, बैतडी ।

बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र सहोदर दाजुभाइ भिड्दै छन् ।

डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना शीतलले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् ।

नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताए । दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्न समस्या भएको छ ।

यस्तै पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुबाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउँद (बुबा) नेकपा एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन् ।

आफूहरुको अलगअलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउँदले बताए ।

माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका उज्ज्वल साउँदले उम्मेदवारी दर्ताका विषयमा बुबासँग कुनै छलफल नभएको बताए । बुबाछोरा अलगअलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा उत्रेपछि परिवारका अन्य सदस्यलाई भोट हाल्न समस्या भएको छ ।