६ कात्तिक, चितवन । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित सहकोषाध्यक्ष सोमनाथ सापकोटालाई सद्भावना दूत चयन गरेको छ । समितिको हालै सम्पन्न विश्व सम्मेलनले डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिसमेत रहेका सापकोटालाई सद्भावना दूत चयन गरेको अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

नेपालमा पर्यटन प्रवद्र्धनसँगै विदेशमा रहेका युवालाई स्वदेशको लगानीका लागि प्रेरित गर्न तथा रोजगारीको अवसर सिर्जना गर्न सापकोटाको भूमिका महत्वपूर्ण हुने समितिले विश्वास लिएको छ । सापकोटाले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन ।

विदेशमा बस्ने चितवनवासीलाई एकीकृत गरी आर्जन गरेको श्रम, सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्न चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति निर्माण भएको हो ।

हाल कतार, इजरायल, युएइ, दक्षिण कोरिया, जापान, कुवेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका करिब दुई हजार चितवनवासी संस्थामा आबद्ध छन् । पाँच वटा देश सहभागी गराउने तयारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

हालै सम्पन्न विश्व सम्मेलनले गरिब तथा असहाय र विपन्न विद्यार्थीलाई सहयोग गर्ने एवं परोपकारी काममा सहयोग गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।