दिनमा एसएमएसमा कति खर्च गर्नुहुन्छ?

सामाजिक सञ्जालको उदय सगै मोबाइल म्यासेजिङमा विस्तारै कमी आउँदैछ। छिटो छरितो हुने भएकाले म्यासेज भन्दा च्याटिङमै संवाद सजिलो अनि भरपर्दो लाग्नु स्वभाविकै हो। तापनि स्मार्टफोन नहुँदा भने सामाजिक सञ्जालमा जोडिन कतिपय अवस्थामा असम्भव नै हुन्छ। अनलाइन नभेटिँदा फोन या म्यासेज नै राम्रो विकल्प हुन्छ। अझ सित्तैमा म्यासेज सेवा भए त सुनमा सुगन्ध नै हुन्छ। यस्तै एक सुविधा भने एनटिसीले निकै पहिले देखि नै दिँदै आएको छ। दिनको १० वटा एसएमएस सित्तैमा। एनटिसीको वेब पोर्टल ‘मिट’ले एनटिसीका प्रयोगकर्तालाई यो सुविधा दिदै आएको हो।

एनटिसीको यो सुविधाको लागि प्रयोगकर्ताले www.meet.net.np मा गई पहिला रजिष्टर गर्नु पर्नेछ। आफ्नो मोबाइल नम्बर र इमेल राखि रजिष्टर गरेपछि तपाइको मोबाइलमा एनटिसीले ‘एक्टीभेसन कोड’ पठाउँछ। सोही वेबसाइटमा उक्त ‘एक्टिभेसन कोड’ राखेपछि दिनमा १० वटा एसएमएस ‘मिट’ मार्फत पठाउन सकिन्छ।