एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

शनिबार बसेको एनडीए गठबन्धनको बैठकले मोदीलाई पुनः गठबन्धन र भारतीय जनता पार्टी भाजपाको संसदीय दलको नेता चयन गरेको हो । प्रधानमन्त्री मोदीले आगामी मे ३० मा प्रधानमन्त्री पदको सपथ लिनसक्ने भारतीय संचारमाध्यामले जनाएका छन् । सपथ अघि मोदी भोली आइतबार गुजरात पुगेर आमाको आशिर्वाद लिनेछन् ।

त्यसपछि आफ्नो संसदीय क्षेत्रमा आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गर्न जानेछन् । शुक्रबार राष्ट्रपति रामनाथ कोबिन्दसमक्ष मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति कोबिन्दले मोदीको राजीनामा स्वीकृत गर्दै लोकसभा बिघटन गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । राष्ट्रपति कोबिन्दले शनिबार नै एनडीएलाई सरकार बनाउन औपचारिक आग्रह गर्ने तयारी गरिरहेको समाचारमा उल्लेख छ । शनिबार नै एनडीएका नेताहरुले राष्ट्रपतिसँग भेट गर्ने तय भएकाे छ ।