१४ चैत, काठमाडौँ।
अनेरास्ववियुले दूरसञ्चार कम्पनी एनसेललाई कर तिर्न दबाब दिनका लागि आज यहाँ प्रदर्शन गरेको छ ।

‘कर असुली नगर्दासम्म एनसेल प्रयोग नगरौँ’ भन्दै कर तिर्न दबाब दिँदै प्रदर्शन गरिएको अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यले जानकारी गराए । प्रदर्शनी मार्गमा लामबद्ध उभिएर विद्यार्थीले ‘कर छली, राज्यलाई क्षति’, ‘कर तिरौँ, राज्यलाई समृद्धि बनाऔँ’ ‘एनसेललाई कर तिराऔँ, राज्यलाई समृद्धि बनाऔँ’, ‘कर नतिर्ने एनसेल बहिष्कार गरौँ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उनले एनसेललाई कर नतिर्दा राज्यलाई नोक्सान भएकाले कर नतिरुन्जेलसम्म आन्दोलन जारी राखिने जानकारी गराए । सङ्गठनले सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । एनसेललाई कर तिराउन दबाब दिनका लागि सङ्गठनले अर्थमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकेको छ । रासस