१० मंसिर, काठमाडौं।

अखिल नेपाल फूटबल संघ एन्फामा देखिएको समस्या अध्ययन गरी सुझाव दिन ५ सदस्सीय छानविन समिति गठन गरिएको छ । खेलकुदमन्त्री, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव, एशियाली फूटबल महासंघका प्रतिनिधि र अखिल नेपाल फूटबल संघका प्रतिनिधीबीच मंसिर ७ गते भएको छलफलमा समस्या समाधानका लागि ३ दिन भित्र अध्ययन समिति बनाउने सहमती भएको थियो ।

त्यही सहमती अनुसार युवा तथा खेलकुद मन्त्रालयका पूर्व सचिव प्रताप कुमार पाठकको संयोजकत्वमा पाँच सदस्सीय छानविन समिति गठन गरिएको राष्ट्रिय खेलकूद परिषदका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । समितिका सदस्यहरुमा महालेखा परिक्षकको कार्यालयका पूर्व निर्देशक उमेश ढकाल, कानूनविद प्रवल शर्मा, खेलकुद मन्त्रालयका उपसचिव राम हमाल र खेलकुद विकास विभागका प्रमुख कुल बहादुर थापा छन् ।

छानविनका लागि समितिलाई एक महिनाको समय दिइएको छ । समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफाले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, १६ वर्ष मुनिको च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधिसम्मत चले÷नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाइएको लगायतका विषयमा छानवीन गर्न भनिएको छ ।

आर्थिक अनियमितताका विषयमा भने समितिले छानविन गर्न पाउने छैन । आर्थिक अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको लेखा समिति र सम्पत्ति सुद्धिकरण विभागले हेरिरहेकाले समितिले त्यो विषय हेर्न नपाउने भएको हो ।

एन्फा अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि एन्फामा अन्यौल बढ्दै गएर दुई खेमामा विभाजन भएको छ । संस्थापन पक्षले नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाएको छ भने असन्तुष्ट पक्ष त्यसमा सहमत छैन् । विवाद बढेपछि एएफसीका प्रतिनिधि काठमाण्डौ आएका हुन् । एएफसी पनि संस्थापन र असन्तुष्ट पक्ष मिलेर जाउन भन्ने पक्षमा देखिएको छ ।

यो पनि पढ्नुस्।

विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा

फैलँदो भ्रष्टाचारको जालोले चिन्तित फुटबलप्रेमी दर्शक युवा पुस्ताप्रति आशावादी