१५ फागुन, एजेन्सी।

एप्पलले आफ्ना कर्मचारीको लागि आफ्नो नयाँ हेडक्वार्टर चाडै खोल्ने बताएको छ। नयाँ हेडक्वार्टरमा सह-सस्थापक स्टिभ जब्सको नाममा एक थिएटर पनि खोलिने एप्पलले जनाएको छ।

क्यालिफोर्नीयाको कुपरटिनोमा रहेका १२ हजार कर्मचारीलाई अप्रिल देखि नयाँ हेडक्वार्टरमा सारिने र सुरु गरिएको ६ महिनामा सबैलाई सारिसक्ने बताएको छ।

१७५ एकडमा फैलिएको एप्पलको नयाँ हेडक्वार्टरमा रहेको मुख्य भवन नै २.८ मिलियन वर्ग फिटमा फैलिएको छ। गोलो रिङ आकारको यो भवन पुरै नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने एप्पलले जनाएको छ।

यो भवनमा १,००० सिट भएको ‘स्टिभ जब्स थिएटर’ नाममा एक एडिटोरियम हुनेछ। स्टिभ जब्स एप्पलका नयाँ प्रडक्ट थिएटरमा कार्यक्रम राखी सार्वजनिक गर्ने गर्थे। ५६ वर्षको उमेरमा क्यान्सरसंग लड्दै गर्दा उनको सन् २०११ मा निधन भएको थियो।

‘स्पेसशीप क्याम्पस’को नामले चर्चा पाएको यो भवन स्टिभ जब्सको अन्तिम प्रोजेक्ट थियो। एप्पलका वर्तमान सिईओ टिम कुकले यो भवन निकै ध्यानपूर्वक बनाउने घोषणा गरेका थिए।