२६ फागुन, काठमाडौ । एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)का नेताहरु बीच आज बिहान प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुनुअघि सहमति हुन बाँकी रहेका केहीबुँदामा केन्द्रीत रहेर विस्तृत छलफल भएको छ। छलफल सकारात्मक रहेको नेताहरुले प्रतिक्रिया दिएका छन्।
छलफल पछि एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमालेका नेता भीम रावलले केही बुँदाहरुमा दुई दल सहमति नजिक पुगेका र केही भने सुल्झाउन बाँकी रहेको प्रतिक्रिया दिएका थिए।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको सो छलफल खास गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन, नागरिकता वितरण, मतदाता नामावली अद्यावधिक गर्ने र माओवादी सेनाका पूर्व लडाकुहरुलाई नेपाली सेनामा कुन दर्जा प्रदान गर्ने भन्ने बिषयमा केन्द्रीत रहेको बुझिएको छ।
मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठनका लागि सुल्झन बाँकी रहेका केहीबुँदामा छलफल गर्न जुट्ने र आजको त्यो छलफलबाट केही न केही निष्कर्ष आउने अपेक्षा गरिएको छ। रासस