२० असोज,काठमाडौं । नेकपा एमाले बाँकेले संसद र प्रदेशसभाका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीनै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । यसरी उम्मेदवार छनौटका क्रममा वर्तमान सांसद भने छनौटमा परेका छैनन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट निर्वाचित सांसद देवराज भार, २ बाट निर्वाचित दिनेशचन्द्र यादव र क्षेत्र नं. ४ बाट निर्वाचित सांसद दलबहादुर सुनार सिफारिसमा परेनन् । भार एमाले बाँकेको सचिव हुँदै केन्द्रीय सदस्य बनेका पुराना नेता हुन् भने सुनार र यादव राज्यमन्त्रीसमेत बनिसकेका केन्द्रीय तहकै नेता हुन् ।

एक महिलासहित प्रत्येक क्षेत्रबाट तीन जनाको नाम सिफारिस गर्ने गरेकोमा संघको लागि बाँके क्षेत्र नं. १ बाट युवा नेता सूर्य ढकाल, बाँके अध्यक्ष अशोक कोइराला र महिला नेतृ भारती पौडेल सिफारिसमा परेका छन् । क्षेत्र नं. २ बाट भने सर्वसम्मत पशुपति दयाल मिश्रलाई उम्मेदवार बनाउने सहमति भएको एमाले, बाँकेले जनाएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. ३ बाट बाँकेका पूर्व अध्यक्षसमेत रहेका नेता नन्दलाल रोकाय, युवा नेता कमल बस्नेत र महिला नेतृ एकता शाह निर्वाचनको माध्यमबाट सिफारिसमा परे । क्षेत्र नं. १ मा सांसद देवराज भारले छाडेपछि सर्वसम्मतबाट उम्मेदवार सिफारिस गरिएको थियो भने तीनमा निर्वाचन भएको थियो ।

क्षेत्र नं. २ मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री पशुपति दयाल सूर्य चिन्हबाट निर्वाचन लड्ने भएपछि उनलाई नै सर्वसम्मतबाट सिफारिस गरिएकोे एमालेले जनाएको छ । एमाले बाँकेले ६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा पनि उम्मेदवार सिफारिस टुंग्याएको छ ।