सचित देवकोटा

देश एमालेमय भएको छ। यसको श्रेय एक व्यक्तिलाई प्रमुख रुपमा जान्छ । केपी शर्मा ओली ।

स्थानीय तह निर्वाचनको पहिलो चरणमा मत गणनाकाे नतिजा आउँदै गर्दा  कमेन्ट गर्ने गरिएको छ, ‘एमालेले देश खायो।’

तर कतै यस्तो भन्ने अवस्था त आउँदैन, ‘एमालेले साच्चै देश खायो।’

एक अन्तर्वाताको कार्यक्रम जारी थियो। अन्तर्वार्ताकारले एक प्रश्न गरे, ‘देशमा यतिका पार्टी छन्, संघीयता आएको छ, राजतन्त्र फालियो अनि जनताको हातमा अधिकार दिइयो। विश्वमा भइरहेको परिवर्तनले देशमा पारेको स्वभाविक परिवर्तनलाई साइडमा राख्ने हो भने देशमा उल्लेख के भयो? जनताको चुलोसम्म अन्नपात पुग्यो ? यी राजनीतिक दलले साच्चै आधारभुत आवश्यकता गाँस, वास र कपास पनि जनतालाई दिन सके ? के बहुदल र लोकतन्त्रले साच्चै देशमा प्रभाव पार्यो ?’

यदि जवाफ दिने ठाउँमा भए म भन्थे, ‘हो देशमा साच्चै प्रभाव परेको छ। बेरोजगारी बढेको छ। प्रत्येक वर्ष मानिस झन् झन् बढ्दो सङ्ख्यामा विदेशीयका छन् । देशमा भएका युवा वर्ग सामाजिक सञ्जाल र विरोध जुलुसमा दैनिक औसत पुरै दिन बिताउँछन् । अनि बाँकी समय बाबुआमाको पैसामा शहर डुल्छन्, पैसा उडाउँछन् अनि देशभक्तिका कुरा गर्छन्।

हो देशमा परिवर्तन भएको छ। हो देशका म जस्तै युवाले नेपालको नाम उच्च बनाएका छौ। हो हामीलाई लोकतन्त्रले छोएको छ। हो हामी केपी ओलीले ‘पज’ लिदै गरेको भाषणको स्वाद लिन्छौ अनि सपना बुन्छौ। हो हामी प्रचण्डको इतिहास खोतल्छौ अनि अहिले कम शक्तिशाली भएका प्रचण्डका भाषणमा कतै वास्तविकता छ कि भनि नियाल्न खोज्छौ।

हो हामी दोस्रो संविधान सभाको निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसको सबैभन्दा लामो राजनीतिक करिअरमा उसले गरेको विकास र परिवर्तन देख्न नसक्दा माइक्रोस्कोपबाट नियाल्छौ । हो हामी सबैभन्दा विद्वान मानिएका डाक्टर बाबुराम भट्टराईको भिजनमा भएका कमीकमजोरी नियाल्छौ अनि हिसिला यमीसंग जोडेर उनको विरोधमा उत्रिन्छौ।

हो हामी कांग्रेस, एमाले र कांग्रेस एमालेले यो चुनावमा खर्चेको मासु भात र जाँडको पैसा क्याल्कुलेट गर्छौ अनि आ-आफ्नो भरौटे नेताको पछि लाग्दै उसैको चुनाव चिह्नमा स्वस्तिक चिन्ह ठ्याप्प हान्छौ। हो देशमा परिवर्तन आएको छ।’

हो साच्चै देशमा परिवर्तन आएको छ।

त्यस्तै ५-६ वर्षको हुँदो हुँ। स्कुलको ग्राउन्डमा फुटबल खेल्न गएका थियौं। माथीबाट ‘गरप गरप’ को आवाजले फुटबल वनमा फालेर ‘माओवादी माओवादी’ भनेर डाँडाबाट तल भञ्ज्याङमा रहेको बजारमा चप्पल हातमा राखेर दौडेका थियौं। घरमा माओवादीका ठुला नेता आउँदा अकस्मात सेना आइपुगेपछि सिनारतलामा उनलाई लुकाएको अझै याद छ।

अनि लगत्तै भोलिपल्ट सेनामा गएका गाउँका एउटा दाईलाई माओवादी आउँदा त्यहि सिरानतलामा लुकाएको बेला म बच्चै थिए। अहिले त्यो अवस्था छैन। तर बाल्यकालका घटनाले निकै ठूलो प्रभाव पार्ने रहेछ। निर्ष्कर्ष यो हो कि, अहिले पनि माओवादी, कांग्रेस र एमालेमा फरक छुट्याउन सक्दिन।

चुनावको दिन वैशाख ३१ अघिल्लो रात एक आफन्तकोमा पुगे। सोधे कसले गर्ला विकास, भिजन कोसंग छ? भोट कसलाई हाल्ने विचारमा हुनुहुन्छ ? नितान्त व्यक्तिगत कुरा हो, तर भोलिपल्टको चुनावको बारेमा चर्चामा कुरा हुँदैथियो।

उनी राजनीति जानेदेखि एमालेका भोटर थिए। एमालेले के गर्यो ? उनले निकै पुरानो कुरा खोतल्न थाले। ‘हामी निरन्तर एमालेमा भोट हाल्ने । पार्टी एकता गर्ने अनि भएजतिका पञ्चेहरुलाई भर्ती गर्ने अनि उम्मेदवार उनीहरुलाई नै उठाउने ? यहि पञ्चे विरुद्ध आन्दोलन गरियो। अब तिनै पञ्चेहरुलाई पार्टीले स्पेश दिदैँछ?

मैले सोधे, हाम्रो स्थिति जहाँको त्यही छ, प्रणाली परिवर्तन गर्न आन्दोलन गरियो, अहिले फेरि तिनै प्रमुखहरु चुनावमा उठ्दैछन् अनि तिनीहरुलाई नै भोट दिनुपर्ने ? एमालेका त्यहाँका नेताले मलाई फकाए, तपाईहरु त हाम्रै मान्छे हो, उनीहरु आएकाले पनि भोट बढ्न पार्टीले जित्छ, पार्टीलाई फाइदा हुन्छ, पार्टीको फाइदा तपाईको फाइदा।’

हो, त्यो बेला त्यो तर्क ठिकै लाग्यो।’, उनले भने, ‘अहिले हेर्छु ती शीप, जागिर र दक्षता नभएकाहरु चिल्ला कार चढेर हिड्छन् म जहाँको त्यही छु। मैले यो पटक उम्मेदवारको नजिकको मान्छेलाई भने, यो पटक म एमालेलाई भोट हाल्दिन। तपाईले नहालेर हुन्छ, सर ! उसले भन्दैथिए, मैले भने, मेरो स्थिति ३० औँ वर्ष देखि यहि छ, जे छ मै आफैले गरेको छु, न पार्टीले केही गर्यो, न केही सहज वातावरण नै बनाइदियो। किन दिने म भोट? म एमालेको कार्यकर्ता होइन, भोटर मात्र हुँ। यो पटक आस्था हराएको छ नयाँ पुस्तालाई दिन्छु।’

उनले यति भनिरहँदा उनीसंगका पुराना कुरा याद भयो। एमालेको विरोधमा एक शब्द पनि बोल्दा उनले लामो भाषण छाट्थे अनि एमालेको समर्थनमा आफ्ना विचार अगाडी सार्थे। अहिले तिनैले यस्तो भन्दा लाग्यो इतिहास नियालेछन्, वर्तमानमा सचेत भएछन्।

म एमालेको समर्थक होइन। न विरोधी नै हुँ। न म कांग्रेस र माओवादीको समर्थक नै हुँ। तर मलाई थाहा छ, देशको चौथो अंग रहेका पत्रकारहरुमा को पार्टीका समर्थक छन् र भरौटे छन्। प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरमा लागेका विद्वान पत्रकार, अनुभवी पत्रकार, दक्षता भएका पत्रकार नै हुन यो देशलाई विगार्ने।

हो, यो देशमा पत्रुकारहरु हुन प्रेस युनियन, चौतारी र सेन्टरमा लागेका । आफुसंग भएको बुद्धीको १ प्रतिशत मात्र प्रयोग गरौं त, पार्टीमा लागेका पत्रकारले कस्तो समाचार लेख्छन्, कस्तो विचार सम्प्रेषण गर्छन् ? पक्कै पार्टीको फेवरमा लेख्छन्, पक्षपाती बन्छन् अनि बहुदलको खिल्ली उडाउँछन्। धिक्कार छ यस्ता भरौटे संस्था खोलेर व्यक्तिगत ‘प्रोफाइल’ बनाउन चुनिएका पत्रुकारहरुलाई !

सच्चा पत्रकारितामा लागेका पत्रकारहरु साच्चै अल्पमतमा परेका छन्, पत्रुकारहरु हावी भएका छन्। अनि यसै कारण कतिपय पत्रकारलाई पत्रुकारको बिल्ला समेत भिडाउने गरी भ्रम सिर्जना भएको छ। अनि ति पत्रकार हतोत्साही हुँदैछन्। अनि केही पत्रकार लोभ, लालच र इर्ष्याले पत्रुकार बन्न बाध्य हुन्छन्।

तर्क बुझ्नुस्, यो सबै किन लेखिरहेछु ?

एमाले स्थानीय तहको पहिलो चरणमा किन अगाडी आयो? यसका केही महत्वपूर्ण कारण छन् । एक कारण हो, नाकाबन्दीको बेला त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको ‘देशभक्ती’को भाषण । अर्को कारण हो, एमालेको बलियो संगठन। तर यो भन्दा अर्को महत्वपूर्ण कारण छ। त्यो हो, राजनीतिक तह, देशका घटना, अनि आफ्ना विचार जनतासंग सम्प्रेषण गर्ने ‘एमालेका पत्रकार’को बलियो प्रभाव।

फेसबुक र ट्वीटरले विश्वमा अहिले कस्तो प्रभाव पारेको छ ? किन ? किनकी यसले सुचना सम्प्रेषण ठूलो मासमा तत्काल गर्न सक्छ। त्यस्तै देशमा घटेका घटनालाई सकारात्मकलाई नकारात्मक र नकारात्मकलाई सकारात्मक बनाइ सम्प्रेषण गर्न सक्छ प्रेसले।

अब समाचार पढ्दा याद गर्नस्, प्रेस युनियन, चौतारी र सेन्टरमा लागेका पत्रकार र देशका केही महत्वपूर्ण दैनिक र पार्टीको ट्याग लागेका केही अनलाइनको समाचार एकतर्फि हुन्छन्। आचारसंहिता यस्तो छ कि कसैको आलोचना गर्दा पनि उसले गरेका राम्रा कामको उल्लेख गरेर मात्र खबर लेखिन्छ। तर यी भरौटेहरुलाई यस्ता आचारसंहिताको कुनै ‘बाल’ छैन।

जरुरी छ, कठोर पत्रकारिताको। जे छ, त्यो। नेताले जे बोले त्यो । जे गरे त्यो। जे गरेनन् त्यो। सायद यो लाइनमा पत्रकारिता गर्ने हिम्मत कसैले गर्दैनन्। किनकी उ रिसाउछ, उ ठुस्किन्छ, सम्बन्ध विग्रिन्छ, एउटा लेखले किन सम्बन्ध बिगार्न ?

अनि आशा गर्नुहुन्छ पत्रुकारितामा सबैभन्दा शक्तिशाली मानिने एमालेले तटस्थ समाचार सम्प्रेषण गर्छन् ? अनि त्यहि समाचारको आधारमा तपाईले वर्षौदेखि एमाले तर्फ ‘सेट’ गरेको आफ्नो धारणा सहि छ? एमाले मात्र होइन, कांग्रेस र माओवादीको पक्षपोषण गरि समाचार लेख्ने पत्रुकारले लेखेको उत्कृष्ट समाचारले तपाई दिमाग र मनमा कति समयदेखि वास्तविकता छाँयामा पार्दै भ्रम छर्दैछ ?

ख्याल गर्नुस्, दुख पाउने ती कांग्रेस, एमाले र माओवादीका नेताले होइन, तपाई र मैले हो। अवसर नपाउने तपाई  र म हो । अनि अनपढ झै भरौटे भएर कति वर्ष फाल्न हो अझै ? कहिले चाहिने हो देशमा विकास ? इतिहास केलाएरै बस्ने हो कि, वर्तमान केलाएर, भविष्य सपार्ने हो?

ओली को हुन भनेर कसैले सोधे भन्छु, ‘इन्टरटेनर अनि बढो मिठो बोल्ने नेता’

ओलीले गर्छन् त भन्दा म भन्छु, ‘हु नोज् ?’

साच्चै भनेर सोध्नुस् भन्छु, ‘गफ बढो मिठो हान्छन्, गरेर फुटि कडौ देखाएका छैनन्। प्रतिस्पर्धै गर्ने हो भने कलेज पढ्दा क्यान्टिनमा बसेर ओली भन्दा मिठा गफ गरेको हुँ, सपना देखेको हुँ, अनि साथीहरुलाई सुनाएको हुँ।’

गलत ! एमालेले गर्छ तपाई भन्नुहुन्छ, ‘हो कांग्रेसले पनि गर्छ, माओवादीले पनि गर्छ, एमालेले पनि गर्छ। कति वर्ष भयो यहि भन्दै आएको ? गर्यो ? लोडसेडिङ अन्त्य हुँदा लोडसेडिङ अन्त्य गर्यो सरकारले भनेर प्रशंसा गर्न हिम्मत गर्न नसक्ने पार्टीले विरोधका शब्द फालेर म नै हुँ देशभक्त भनेर बक्ने।

प्रतिपक्षी भनेको केवल सरकार विरोधी बुझेर त्यसै अनुसार व्यवहार गर्ने संकुचित सोचले सत्ता पाए गर्छ भनेर म पत्याउन सक्दिन। म हाइपाेथेसिसमा विश्वास गर्दिन। म फ्याक्टमा विश्वास गर्छु। परिणामा विश्वास गर्छु। परिणाम देखाओस् एमाले र ओलीको सबैभन्दा ठूलो भक्त बन्छु। म मात्र होइन सारा बन्नेछन्। अनि गफैमा सिमित गरोस्, ति कार्यकर्तालाई म भन्नेछु, देख्यौं त तिम्रो अन्धभक्ति ! अनि म भन्छु, देख्यौ एमालेले देश विकास गरेन किनकी तिमी आफ्नो विचार विकास गरेनौ !’