२७ भदौ, काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको नयाँ संरचनाअनुसार कमिटी निर्माण गर्ने भएको छ ।

सोमबार पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १६५ निर्वाचन क्षेत्रमा नयाँ क्षेत्रीय कमिटी बनाउने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । यसअघिका २४० क्षेत्रीय कमिटी विघटन गर्दै एमालेले नयाँ कमिटी बनाउने भएको हो ।

उनका अनुसार चाँडै नै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अहिले एकजना संयोजक रहने गरी कमिटी बन्ने छ । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी ७७ जिल्लाका ३३० निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीसमेत गठन गर्ने निर्णय गरेको उनले बताए ।

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय कमिटी हुने छैनन् जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइने छ ।

बैठकले समानुपातिक प्रणालीको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसमेत निर्णय गरेको छ । बैठकले नेपालका सात प्रदेशको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने सिट र समानुपातिक सिटका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको उपाध्यक्ष ज्ञवालीले बताए ।

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालयको जिम्मेवारी तोकेका छन । सोमबार अध्यक्ष ओलीले विज्ञप्ति जारी गरी सचिवालयमा रहने विभिन्न व्यक्तिलाई नयाँ जिम्मेवारी तोकेको जानकारी गराए ।

उनले राजनीतिक तथा पार्टीको अन्य कामकाजलाई सहज र व्यवस्थित बनाउन सचिवालयको नयाँ जिम्मेवारी तोकेको बताए । अध्यक्ष ओलीले दिएको नयाँ जिम्मेवारी अनुसार केन्द्रीय सदस्य देवराज घिमिरेलाई विभिन्न पार्टीका नेता एवं पार्टी कार्यालयबाट हुने कार्य सम्पादन, प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सचिवमा अनिस दाहाल र प्रेस संयोजकमा चेतन अधिकारीलाई जिम्मेवारी दिएका छन । रासस