२० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अनावश्यक हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएको छ । संविधान संसोधन विधयेकको विरोधमा आन्दोलनरत एमालेले भारतको नाम नलिइकन यस्तो चेतावनी दिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकपछि जारी गरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘नेपालभित्रको कुनै पनि समस्यालाई नेपालका राजनीतिक दल तथा जनताले आफैं समाधान गर्दै मूलुकलाई अग्रगामी दिशामा अघि बढाउन नेपाल राष्ट्र आफैं सक्षम छ ।

statement

यसमा नेपालको हितमा विश्वभरीका मित्रहरुको सुभेक्षा हामी अपेक्षा गर्दछौं, तर नेपालको आन्तरिक विषयहरुमा अनावश्यक चासो राख्दै, आन्तरिक मामलामा पक्षधरता देखाउने तथा हस्तक्षेप गर्ने कुनै पनि काम कारवाही नगर्न हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय भित्रहरुलाई अपिल गर्दछौं ।’

हिजो भारतले संविधान संसोधन प्रस्तावले समस्या समाधान हुने अपेक्षा व्यक्त गर्दै भारतले संसोधन विधयेकको पक्षमा वकालत गरेको थियो । बैठकले संसोधन विधयेक विरुद्धको आन्दोलनलाई देशब्यापी बनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ ।