१५ वैशाख, काठमाडौं ।

सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसहितका दल संविधान संसोधनमा नआए पनि दुई तिहाई मतसहित संविधान संसोधन पारित गराएरै छाड्ने भएको छ । प्रतिपक्षीसँग आफ्नो १८१ मत मात्र रहेको र केही साना दलको साथ रहेकोले सत्तारुढ दलहरुले संविधान संसोधनको लागि ३९६ मत अर्थात् दुई तिहाइ पुर्याउन सक्ने गरी हिसाब निकालेका छन् ।

संसदमा अहिले कूल ५९३ सांसद यति सांसद हुँदा दुई तिहाई मतका लागि ३९६ मत आवश्यक पर्छ । जसमा सबैभन्दा ठूलो दल कांग्रेसको २०७, माओवादीको ८१, राप्रपाको ३७, भर्खरै एकता गरेका राष्ट्रि जनता पार्टीको २५, लोकतान्त्रिक फोरम नेपालको १६, संघीय समाजवादी फोरमको १५, नेकपा संयु्क्तको तीन र परिवार, अखण्ड पार्टी, दलसहितका साना दलको १४ मत पनि आफूहरुलाई आउँने बुझाई सत्तारुढ दलहरुको छ । यी सबैको गरी ३९८ मत आफ्नो पक्षमा आउँने सरकारका एक मन्त्रीको दाबी छ । यस अघि परिवार दल सत्तारुढ दलमा आउनेमा शंका रहे पनि बिहीबार रातीबाट परिवार दलले पनि सत्तारुढलाई सहमति दिने वचन दिएको सत्तारुढको दलको दाबी छ ।

यता विपक्षी दलको एमालेको पक्षमा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, बहुजन पार्टी र नेपा पार्टीको एकएक गरी १९५ मात्रै रहेको बताइन्छ । यस्तोमा साना दलहरुले अदलबदल गरेनन् भने संविधान संसोधन हुने र घोषित ३१ वैशाखको निर्वाचन हुने सम्भावना बढी छ ।

एमाले आउने विश्वास
यता सत्तारुढ दलहरुले पनि एमालेले संविधान संसोधनमा सहमति जनाउने आशा गरेका छन् । बिहीबार सत्तारुढ, एमाले, मधेसी मोर्चाको छलफलमा एमाले स्थानीय तहको संख्या बढाउन तयार भएको थियो । यस्तोमा दलबीच सहमतिमैं संविधान संसोधन अगाडि बढाउने समझदारी बन्ने सम्भावना पनि उत्तिकै छ ।