९ जेठ, काठमाडौं ।

महानगरपालिका बाहेक धेरै ठाउँमा चुनावी मतपरिणाम आइ सकेको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेर र माओवादी केन्द्र बाहेकका दलले नराम्रोसँग पराजय व्यहोरे ।

अहिलेको संसदमा ३७ जना सांसद सहित चौथो ठूलो दल राप्रपा पहिलो चरणको निर्वाचनमा सबैभन्दा नराम्रोसँग पछारियो । र २८३ गाउँपालिका मध्ये एउटामा मात्र जितेर चित्त बुझाइरहेको छ राप्रपा । प्रस्तुत छ यसै सन्दर्भमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङसँग गरिएको कुराकानीः

चुनावी हारलाई कसरी लिनुभएको छ ?

यो नतिजा अनपेक्षित र अप्रत्याशित छ । आश गरिएको भन्दा ठिक विपरित ।

आश कति गर्नुभएको थियो ?

२८३ गाउँपालिकामा ५०, ६० सिटको आश थियो । कम्तिमा ५० सिट त आउँछ नै भन्ने लागेको थियो । तर एक सिटमा सिमित भयौं ।

नराम्रोसँग पो पछारियो त राप्रपा त ?

अव पछारिऔं नै भन्न पर्यो । चुनाव हो, जनताको इच्छा अनुसार जान सकिएन । स्थानीय निर्वाचन भनेपछि फरक पार्टीबाट लोग्ने–स्वास्नी पनि उठेका हुन्छन्, साला–भिना, दाजु–भाइ उठेका हुन्छन । यसले पनि असर गर्दो रहेछ ।

त्यो त अपवादको रुपमा केही ठाउँमा मात्र भए होला ?

धेरै ठाउँमा हुदो रहेछ ।

हारका कारण के के रहेछन्, कसरी केलाउनुहुन्छ ?

धेरै कारण छन् । सबैभन्दा मुख्य कुरा त संगठन नै कम्जोर छ । दुई पार्टी मिलेर भर्खरै महाधिवेशन गरेर जनताको बीचमा गएका थियौं । पार्टी मिले पनि मन मिलेको रहेनछ । उम्मेदवारी दिने क्रममा पनि सबैको चित्त बुझेको थिएन । कतिपय कार्यकर्ताहरु नै चिढिएर बसेका थिए । ग्रुप उपग्रुप भएकोले पनि काम गर्यो । अर्को महत्वपूर्ण कुरा एजेण्डा नै हो ।

हिजो सरकारमा गयौं, अनि फर्क्यौं । किन गयौं, किन फर्क्यौं ? जनतालाई स्पष्ट पार्न सकेनौं । राप्रपाका एजेण्डाहरु ‘हिन्दु राष्ट्र र राजसंस्था’ संविधान जारी हुनुभन्दा अघि मजबुत थियो, ती एजेण्डा हटेर संविधान जारी भएपछि त्यसको प्रभाव कम भयो । हामी विचलित भए जस्तो भयौं । यी विविध कुराहरुले गर्दा हामी चुनाव हार्न पुग्यौं ।

तपाईहरुले उठाएको राजसंस्था र हिन्दु राष्ट्रलाई जनताले रुचाएनन् भनेर बुझ्दा हुन्छ, होइन त ?

राजसंस्था र हिन्दु राष्ट्र हाम्रो एजेण्डा होइन । यो त एकता पहिलेको राप्रपा नेपालको एजेण्डा थियो । हाम्रो अर्थात तत्कालिन राप्रपाको एजेण्डा त ‘सर्व धर्म समभाव र संघीय लोकतान्त्रिक गणतन्त्र’ नै थियो । महाधिवेशनमा जाँदा हाम्रो एजेण्डा अल्पमतमा पर्यो, बहुमतले राजसंस्था र हिन्दु राष्ट्र पास गर्यो । बहुमतले पास गरेपछि मान्नै परयो ।

अव यो एजेण्डा जनताले रुचाए कि रुचाएनन् अहिले नै भन्न सकिन्न । हामीले जनातालाई बुझाउन सकेका छैनौं । त्यसरी नै प्रस्तुत हुन पनि सकेका छैनौं । तत्कालिन राप्रपा र राप्रपाबीचको अलग अलग एजेण्डालाई पनि हामीले बुझाउन सकेनौं ।

बुझाउन नसकेको कि जनताले बुझेर पनि समर्थन नगरेको ?

मलाई लाग्न चाहेनन् भन्दा पनि बुझाउनै सकेनौं ।

तपाईले यसो भनेपनि दुई राप्रपाकै बीचमा मन कालो कालो छ भन्ने देखिन्छ ।

त्यो केही मात्रामा हुन सक्छ । त्यस्तो ठान्ने साथीहरु छुटेर अलग पार्टी बनाईसक्नु भएको छ । तर मैले बुझ्न सकेको छैन, राप्रपा छोडेका साथीहरुले पनि पहिलेको राप्रपा नेपालकै एजेण्डा समाउनु भएको छ ।

राजसंस्था र हिन्दु राष्ट्र हुनु पर्छ भन्ने तर संविधानलाई स्वीकारेर गणतान्त्रिक सरकारमा सहभागि हुने, संघीयताको विरोध गर्ने तर संघीय मामिला मन्त्री पनि हुने । यो कुरा जनताले कसरी बुझ्छन् ?

तपाईलाई म एउटा कुरा मात्र भन्छु, अहिले हाम्रो जुन स्थिती छ, त्यो २०४७ सालमा एमालेले अंगालेको नीति जस्तै हो । त्यति बेला एमालेले आलोचनात्मक समर्थन गरेर चुनाव लडेकै हो, मनमोहन अधिकारीको नेतृतवमा सरकारमा पनि गएकै हो । त्यसैले हामी यो संविधानलाई आलोचनात्म कसमर्थन गर्दै अघि बढ्छौं ।

तर बाहिर बसेर हेर्दा राप्रपालाई सबैभन्दा स्वार्थी पार्टी भन्दा रैछन् ।

स्वार्थी करी भयो र ? हामी जस्तो निस्वार्थी पार्टी अरु छैन । सरकारमा जानु छ सामान्य हो । सरकारमा जाने आउने त भइरहन्छ । राजनीति गरेकै त्यसैका लागि त हो नि । एजेण्डा स्थापित पनि गर्नै पर्यो, जनताको सेवा पनि गर्नै पर्यो । तर यो चाँही सत्य हो सरकारमा जानु र फर्कनुको कारण के थियो भनेर जनतालाई बुझाउन सकेका छैनौं ।

अहिले त २८३ वटा गाउँपालिकामाको नतिजालई विष्लेषण गर्दै कुरा गरिरहेका छौं । तर ४८३ वटा गाउँपालिकाको निर्वाचन हुन बाँकी नै छ । त्यति बेला पनि अहिलेजस्तै अनपेक्षित परिणाम आएछ भने एजेण्डालाई पुर्नविचार गर्न तयार हुनुहुन्छ ?

हाम्रो महाधिवेशन ४ वर्षमा हुन्छ । भर्खर फागुनमा महाधिवेशन भएको छ । हामी फेरी पनि कोसिस गछौं । कार्यकर्ता परिचालन गछौं, हामी पनि लागि पर्छौ । त्यसपछि बल्ल पूरै मुल्यांकन गछौं । अनि मात्र एजेण्डाका बारेमा महाधिवेशनमा समिक्षा गछौं ।

केही ठाउँमा तालमेल गर्नुभएको थियो । तर त्यो पनि फापेन ?

कांग्रेस र माओवादीको तालमेल राम्रैसँग भयो । त्यही तालमेलका आधारमा चुनाव पनि जिते । तर हामीले एमालेसँग गरेको तालमेलको नतिजा त तपाईले देखिहाल्नुभयो । कांग्रेस माओवादीको तालमेलमा इमान्दारिता देखियो । काठमाडौं र ललितपुरकै हाम्रो तालमेल हुर्नुस त, नतिजा के आयो । हामी जति इमान्दार भयौं एमाले इमान्दार देखिएन । एमालेका मान्छेले उम्मेदवार नै नभएको ठाउँमा भोट हाले ।

पहिलो चरणको नतिजा हेरेर दोस्रो चरणमा तालमेलको रणनीति के हुन्छ ? फेरी पनि तालमेललाई निरन्तरता दिनुहुन्छ कि नाई ?

तालमेल भनेको ‘गिभ एण्ड टेक’ हो । अहिलेको गिभ एण्ड टेक सफल भएन । अव एमालेसँग तालमेल गर्दैनौं । पर्यो भने अरु पार्टीसँग तालमेल गछौं ।