२८ भदौ, महोत्तरी ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जारी भइसको अवस्थामा विकास र समृद्धिको अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।

महोत्तरीको जलेश्वरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले अव नेपाली काँग्रेस विकास कार्यलाई दु्रतगतिमा अघि बढाएको बताए ।

नेता पौडेलले एमाले, दक्षिणपन्थी र प्रतिगमनकारी शक्तिका कारण संविधान संशोधन हुन नसकेको भन्दै कांग्रेस मधेसी जनताको भावनाअनुसार संशोधनकै पक्षमा रहेको बताए ।

मधेस, कांग्रेस र लोकतन्त्र एकअर्काका पर्यायवाची रहेको जनाउँदै पौडेलले तराई मधेसको सम्मान र पहिचानको पक्षमा कांग्रेस उभिएको बताए । उनले संघीय संरचनामा देश गइसकेकोले भ्रष्टाचार मुक्त बनाउनुपर्नेमा जोड दिए ।

जनतालाई सेवा प्रदान गर्न गाँउ गाँउमा सिंहदरवार पुगेको उनको भनाई थियो । अर्को प्रसंगमा नेता पौडेलले भने अन्य पार्र्टीले समस्या मात्र राख्ने तर काँग्रेस समाधान गर्ने पार्टी रहेको छ ।

महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट नेताहरू उमेरले पाको भए पनि बुद्धि नभएको आरोप लगाए । उनले मधेस र मधेसी जनताको मुद्दा कांग्रेसको भएको दाबी गर्दै कांग्रेसको नेतृत्वमै मधेसलाई समृद्ध बनाउन सकिने ठोकुवा गरे ।