१४ वैशाख, बेसीसहर(लमजुङ) ।

स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त मोर्चा बनाएका छन् ।

आज दुवै पार्टीका जिल्ला प्रमुखले पत्रकार सम्मेलन गरी निर्वाचनमा सहकार्य गर्ने बताएका हुन् । राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिबद्ध हुँदै जिल्लाको विकास गर्न दुई दलबीच स्थानीय तहको निर्वाचनमा संयुक्त मोर्चा बनाउने सहमति भएको दुवै दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा (एमाले)का जिल्ला अध्यक्ष धनञ्जय दवाडी र नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज पारसमणि पौडेलले विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । दुई दलबीच भएको सहमतिअनुसार आठ स्थानीय तहमध्ये तीनवटामा नेकपा (माओवादी केन्द्र) र बाँकी पाँच वटामा नेकपा (एमाले)ले प्रमुख पदका लागि उम्मेदवारी दिने नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज पौडेलले बताए । रासस