१९ साउन, काठमाण्डौ ।

नयाँ संबिधानमा दलित समुदायका अधिकार सुनिश्चित गर्न माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको जुलुस माथि प्रहरीले दमन गरेको भन्दै सभासद्ले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले दलित अधिकारकर्मी र सभासद् माथि प्रहरीले दमन गरेको भन्दै सदनमा उपस्थित भएर गृहमन्त्री बामदेव गौत्मले माफि माग्नु पर्ने बताए ।

समय मागेर एमाले सभासद् भानुभक्त ढकालले संसदीय दलको तर्फबाट घटना प्रति आपत्ति जनाए । संविधान निर्माणका क्रममा आफूहरुका अधिकार सुनिश्चितताका लागि दवाव दिन खोज्दा प्रहरीले वर्वर दमन गरेको भन्दै आफ्नै पार्टीका गृहमन्त्रीले माफी माग्नु पर्ने बताए ।

एमाले सधै सत्यका पक्षमा उभिने भन्दै ढकालले लोकतान्त्रिक अभ्यासलाई अनुशरण गरिरहेका बेला सरकारले निर्मम दमन गरेको बताए ।

एमाओवादी सभासद् अग्नि साप्काटाले प्रहरीले दलित समुदायका अगुवा र सभासद् माथि दमन गरेको भन्दै दोषी माथि कारवाही नभएसम्म सदन अघि बढ्न नसक्ने चेतावनी दिए ।

समावेशी संविधान निर्माणका बेला देशव्यापी दलित समुदायमाथि दमन र अत्याचार भएको भन्दै साप्कोटाले प्रहरी हस्तक्षेपको विरोध गरे । दलित समुदाय मािथ भएको हक्ष्तक्षेपको संसदमा बोल्ने सबै सभासद्ले विरोध गरेका छन् ।

संघर्ष समितिले विहान १० बजेदेखि एक घण्टा चक्काजाम गरेको थियो । राज्यका सबै संयन्त्र र निकायहरुमा दलित समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्वको संवैधानिक ग्यारेन्टी गर्नुपर्ने, प्रत्यक्ष निर्वाचन तर्फ १३ प्रतिशत सहभागिता सुनिश्चित गर्न छुट्टै निर्वाचन क्षेत्र हुनुपर्ने लगायत माग राखि चक्का जाम गरिएको हो ।

प्रहरीको हस्तक्षेपबाट दलजित विके श्रीपाली, मान बहादुर विश्वकर्मा लगायतका सभासद् सहित २६ जना घाइते भएका छन् । उनीहरुको बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।