१३ चैत, काठमाडौं ।

भारतीय सिमा सुरक्षा बल एसएसबीले हत्या गरेको ६ वर्षपछि मोरङ, अमाही बरियाती–७ खयरबोनाका बासुदेव साहको परिवारले राहत महसुस गर्ने भएको छ ।

एसएसबीले २०६७ साल जेठ ११ गते ५५ वर्षिय साहलाई उनको घरनजिकै चौतारीमा गोली हानी हत्या गरेको थियो । तर ६ वर्ष बितिसक्दा पनि साहको परिवारले राहात पाउन सकेको थिएन ।

गृहमन्त्री विमलेन्द्र निधि सरकारका तर्फबाट १० लाख रुपैयाँसहित भोली शाहको परिवारलाई राहत दिन जान लागेका हुन् ।

एसएसबीले नै हत्या गरेका कञ्चनपुर आनन्दबजारका गोविन्द गौतमको परिवारले सरकार र विभिन्न राजनीतिक दलको तर्फबाट राहत प्राप्त गरे पनि साहको परिवारले राहतका लागि ६ वर्ष कुर्नु परेको हो ।

भोलि हुने पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री निधिले शाहका परिवारलाई बिराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजि दाहालले जानकारी दिए ।

घटनाको दुई दिनपछि तत्कालीन मोरङको सुरक्षा संयन्त्र र राजनीतिक दलका प्रमुखहरूको संयुक्त बैठकले साहलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति र छोराछोरीको शिक्षादिक्षाका लागि उचित प्रबन्ध गर्न गृह मन्त्रालयसमक्ष आग्रह गरेको थियो । तर सरकारले उनलाई अहिलेसम्म सहिद पनि घोषणा गरेको छैन।

स्थानीय क्षेत्रमा समाजसेवीको छविसमेत भएका साह मारिएपछि तत्कालीन समयमा नेपाल सरकारले सहिद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने र साहका दुईजना छोरालाई सरकारी जागिरमा सिफारिस गर्ने आश्वासन दिएको थियो ।

यसैबीच, गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि त्यसतर्फ जाने तयारी मिलाउन गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् ।

तयारी पूरा भएपछि केही दिनभित्रै घटनास्थल पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिबारलाई १० लाख रुपैयाँका दरले राहत बितरण गर्ने कार्यक्रम छ ।