१ मंसिर, काठमाडौं । १९ वर्षमुनीको एसीसी क्रिकेटको सेमिफाइनलमा नेपालले अफगानिस्तानसामू जितका लागि १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको किन्रारा ओभल मैदनामा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल २८ ओभरमा १ सय ३ रनमै समेटियो । नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ५० रनको योगदान गरे भने बाँकी कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पवन सर्राफले ८, सन्दिप लामिछाने र साहव आलमले समान ७/७, कप्तान दिपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान ६/६, रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंहले १ रन जोड । आसिफ शेख, कमल सिंह ऐरी र किशोर महतो शून्य रनमै पेभेलियन फर्किए । नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ६ विकेट लिए ।

नेपाल पहिलो पटक यो प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । सन् २००७ पछिका नौ खेलमा नेपाल तीन खेलमा विजयी भएको छ भने अफगानिस्तानले ६ खेल जितेको छ । नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गरेको थियो ।

अफगानिस्तानले भने पाकिस्तान र युएईलाइ हरायो । हिजो भएको खेलमा बंगलादेशलाई दुई रनले पराजित गर्दै पाकिस्तान १९ वर्षमुनीको एसीसी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आजको विजेताले पर्सि हुने फाइनलमा पाकिस्तानसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।