विनोदसिंह विष्ट

२४ फागुन, बैतडी । जिल्लाको तल्लो स्वराडमा रहेका थुप्रै धार्मिक तथा ऐतिहासिक स्थल प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएका छन् ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र त्यहाको तल्लो स्वराड राज्यबाटै अपहेलित क्षेत्र हो । राज्यले यस क्षेत्रलाई जति अपहेलना गरेता पनि प्रकृतिको भने बरदानको रुपमा चिनिने यो क्षेत्रमा देवीदेवताको बास भएको र यो क्षेत्र देवभूमि रहेको बूढापाकाको भनाइ रहेको छ ।

यहाँ थुप्रै यस्ता धार्मिक एवम् पर्यटकीयस्थल रहेका छन् जुन धार्मिक एवम् पर्यटकीयस्थल यो क्षेत्रको पहिचान बन्न सक्ने स्थानीय उदयदेवका स्थानीय बासिन्दा नरेन्द्र महताले बताउनुभयो । उहाँले भन्नुभयो “सडक विस्तारसँगै स्वराडको पर्यटनको पनि प्रचारप्रसार गर्न जरुरी छ ।”

शिवनाथमा अवस्थित शिवमन्दिर, मेलौलीस्थित माता भगवती मन्दिर, आमचौरा सैलोडास्थित कैलपाल मन्दिर जुन ऐतिहासिक धार्मिकस्थल हुन् र यहाँ वर्षमा एकचोटी मेला पनि लाग्ने गर्दछ । यस्तै, उदयदेव मन्दिर, देहीगाडा भगवती मन्दिर, खोलाकेदार मन्दिरलगायत रहेका छन् ।

यी ऐतिहासिक धार्मिकस्थलमा लाग्ने मेला हेर्न, व्यापार गर्न एवम् भगवानको दर्शन गर्न छिमेकी जिल्ला डडेल्धुरा, महेन्द्रनगर एवम् छिमेकी देश भारतको कुमाउ गढवालबाट मानिस आउने गर्दछन् । त्यस्तै, गिरेगढामा गणमेश्वर, तोली त्रिशूललगायतका उच्च पर्यटकीय सम्भावना बोकेका धार्मिकस्थल पनि रहेका छन् ।

महाकाली नदीमा पुल नहँुदा डुङ्गाको जोखिमपूर्ण यात्रा गरेर पनि दर्शनका लागि भारतबाट समेत भक्तजन आउने गरेका छन् । यी ऐतिहासिक धार्मिकस्थलमा शुद्घ मनले भगवानको दर्शन गरे मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

यो क्षेत्रमा धार्मिक मात्र नभई थुप्रै उच्च पर्यटकीय सम्भावना बोकेका पर्यटकीयस्थल पनि रहेका छन् । जिल्ला सदरमुकाम बैतडीबाट झन्डै ५० कोसको दूरीमा रहेको शर्माली गढी ९अमरगढी किल्ला०, ग्वालेक, ओल्या, पञ्चेश्वर वनलगायत पर्यटकीयस्थल रहेका छन् जहाँ थुप्रै किसिमका जडीबुटी मिल्नसक्ने जानकार बताउँछन् ।

शर्मालीस्थित अमरगढी किल्ला एक ऐतिहासिक पर्यटकीयस्थल हो, जहाँ नेपाल–अङ्ग्रेज लडाँईको समयमा अमरसिंह थापाले किल्ला बनाई बसेका थिए भन्ने कुरा जानकार बताउँछन् ।

अहिले यो किल्ला निकै नै हेर्न लायक बनाइएको छ । यस्तै, यहाँका विभिन्न वन जङ्गलमा धेरै किसिमका जडीबुटी पनि पाइने गरेका छन् । साथसाथै यहाँ यीबाहेक अन्य धेरै मनोरम दृश्य रहेका छन् जसले पर्यटकलाई लोभ्याउने गरेको अर्जुन कुँवरको ठम्याइरहेको छ ।

धार्मिकस्थलको रुपमा सुदूरपश्चिमका प्रमुख शक्तिपीठमध्ये मेलौली पनि एक हो । सञ्चारका माध्यमबाट जसको बढी प्रसारप्रसार नहँुदा तथा यातायात सुविधाले पनि त्यसलाई सहजता नहुँदा ओझेलमा परेका हुन् ।

यी विभिन्न धार्मिक एवम् पर्यटकीयस्थल संरक्षण सम्वद्र्धन र प्रचाप्रसारको अभावमा अहिले ओझेलमा परेका छन् । यदि पञ्चेश्वर परियोजना बनी यो क्षेत्रमा यातायातको सहज सुविधा पुग्ने हो भने यो क्षेत्रले धेरै पर्यटक भित्र्याइ पर्यटन केन्द्रका रुपमा चिनिने जानकारको भनाइ रहेको छ ।

तल्लोस्वराडका बासिन्दा खाद्यान्नका लागि सधैँ भारतको भर पर्नुपर्ने भएपनि हाल आएर पाटन–पञ्चेश्वर सडक निर्माण कार्यलाई तीव्रता दिएसँगै सहजता भएको स्थानीय वीरेन्द्र महताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सडक विस्तारले भारतको निर्भरता हट्दै गएको छ ।”

बैतडीमा पर्यटनका लागि भनेर सम्बन्धित निकायले कुनै पनि कार्य गरेको देखिँदैन । यसमा सम्बन्धित निकायको समयमै ध्यान नगए धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना रहेको बैतडी ओझेलमा पर्ने देखिएको छ । रासस