२९ भदौ, काठमाडौं । काठमाण्डौको चावहिलमा रहेको ओम अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।

हिजो अस्पतालमा एक जना बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावका कारण अस्पतालले विज्ञप्ती निकालेर ओपीडी सेवा बन्द गरेको हो । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको शल्यक्रियाका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा धर्ना दिईरहेका छन् ।

उनीहरुले मृत्युको कारण अस्पतालले प्रष्ट पार्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् । अपरेशन गरी नाकको बाङ्गगो हाड सोझ्याउन आफैं हिँडेर अस्पताल पुगेकी भट्टराई गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालले उनको मृत्यु असामान्य भन्दै मृत्युप्रति दुःख ब्यक्त गरेको छ । सँगै उनको मृत्यु अस्पतालको लापरवाहीका कारण नभई रगतको संक्रमणका कारण भएको दाबी पनि गरेको छ ।

यसैवीच अस्पताल प्रशासन र पीडित पक्षबीच आज दिउँसो २ बजे बार्ता हुँदैछ । स्वास्थ्य मन्त्रालयले पनि घटनाबारे छानविन गर्न उच्चस्तरीयसमिति बनाएको छ । अस्पतालले विज्ञप्तीमा सरकारी उच्चस्तरीय समितिलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।(हेर्नुहोस् अस्पतालको विज्ञप्ती)