काठमाडौं ।

मधेश आन्दोलनको माग पुरा नभए सम्म काठमाडौं नफर्किने कसम खाएका राजेन्द्र महतो आफ्नो कसम तोड्दै आइतबार काठमाडौं ओर्लिए । मधेशमै समेत अतिवादी र ‘पहाडविरोधी नश्लवादी’ भन्दै आरोप खेपेका राजेन्द्र महतोले विमानस्थलमै भने “म प्रधानमन्त्रीको विशेष आग्रहमा काठमाडौं आएको हु” ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ सञ्चारकर्मीलाई महतोले भने, “समस्या समाधान हुन्न भने काठमाडौं आउँदिन भनेको थिएँ। प्रधानमन्त्रीले वार्ताबाट समाधान हुन्छ भनेर काठमाडौं आएको हुँ’ उनले अगाडी थपे ‘हुँदैन भने मधेस त छँदैछ। विश्वास दिलाएपछि आएको हुँ।” ‘पहाडविरोधी नश्लवादी’ भन्दै आरोप खेपेका राजेन्द्र महतोलाई “मधेश विरोधी नश्लवादी” को आरोप खेपेका प्रधानमन्त्रीले किन बोलाए त ? यतिबेला राजनीतिक बजारमा सबैभन्दा चर्चा र अनुमानको विषय बनेको छ यही विषय ।

Mahato Kathmandu from Delhi (2)

ओलीको फोनले बदलिएको माहौल

गएको भदौमा सद्भावना अध्यक्ष महतोले मधेसको समस्या समाधान नभएसम्म काठमाडौं नफर्किने र पार्टीको मुख्य कार्यालय पनि मधेसमा नै सार्ने बताएका थिए। त्यसपछि सद्भावनाका सभासदहरुले संविधानसभाबाट पनि राजीनामा गरेका थिए । तिनै राजेन्द्र महतोलाई विराटनगरको जोगवनी नाकामा प्रहरीसँग भएको झडपमा प्रहरीले चुट्यो । झडपमा घाइते भएका महतोलाई उपचारका लागि पुस १७ गते दिल्ली लगिएको थियो । तर प्रधानमन्त्री ओलीको फोनले माहौल बदलिएको छ ।

KP oli PM

मधेश आन्दोलनको नाम पनि सुन्न नचाहने पहिचान बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस २७ गते साँझ दिल्ली रहेका महतोलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गर्नुका साथै छिट्टै काठमाडौं फर्किन आग्रह गरे । त्यही फोनको आधारमा माहौल सकारात्मक बनेको भन्दै अडान छोडेर महतो काठमाडौं फर्किएका छन् । उनी फर्किए लगत्तै काठमाडौंको राजनीतिक माहौल पनि बदलिएको छ । यसैबीच महतो काठमाडौं ‌ओर्लिएको केही छिनमै सिंहदरवारमा जारी तीन दल र मधेशी मोर्चा सम्मिलित कार्यदलको बैठकमा सहमतिको मस्यौदा बनिरहेको बताइएको छ । यस अघि कार्यदलमा नबसेको राजेन्द्र महतोको सदभावना समेत सहमतिमा सकारात्मक बनेपछि सहमतिको माहौल बनेको हो । अव सम्भावित सहमतिपछि मधेश आन्दोलन स्थगित हुने भारतले विगत ४ महिना देखि लगाउँदै आएको नाकाबन्दी पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

कसरी मिल्यो २ ध्रुव

ओली विपरित ध्रुवसँग एकाएक नजिकिन माहिर छन् । यस अघि एक अर्कालाई सोझो नजरले नहेर्ने एमाओवादी अध्यक्ष प्रचण्डसँग नाटकीयरुपमा एकता गरेर प्रधानमन्त्री बन्न पुगेपछि ओलीले यो कुरा पुष्टि गरिसकेका छन् ।

यस्तै पछिल्लो समय मधेशमा नाकाबन्दीको आन्दोलन र बन्द हडताल फिर्ता लिन दवाव परेपनि राजेन्द्र महतो भने लिँडे ढिपीमा थिए । मोर्चाको प्रमुख घटक सदभावना पार्टी नाका केन्द्रीत आन्दोलाई झन् कडा पार्नुपर्ने पक्षमा देखिएपछि मोर्चाकै अस्तित्व समेत संकटमा परिसकेको भन्दै उनीमाथि दवाव परिररहेको थियो । पछिल्लो समय संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोबीच सार्वजनिकरुपमा नै हिलो छ्याप्ने क्रम शुरुभएपछी मोर्चा धर्म संकटमा परेको थियो । यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मधेश विरोधीकोरुपमा चित्रित गर्दै नरम बन्ने दवाव आन्तरिक र बाह्यरुपमा बढिरहेको थियो ।

Oli vs Mahato

शनिबार मात्र कांग्रेसको एक प्रतिनिधिमण्डलले तराइ मधेशको स्थगलगत रिपोर्ट पार्टी नेताहरुलाई बुझाउँदै प्रधानमन्त्री ओली र राजेन्द्र महतो दुवै अतिबादी भएको भन्दै दुवै प्रवृत्तिको पछि लाग्न नहुने निष्कर्ष दिएको थियो । त्यस्तै केही समय अघि नेपाली काँग्रेसका सांसद तथायुवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राजेन्द्र महतो उस्तै भएको टिप्पणी गरेका थिए । गगन थापाले ओली पनि महतो जस्तै नश्लवादी भएको आरोप समेत लगाएका थिए ।

यसै पृष्ठभूमिमा एक अर्कालाई देख्नै नचाहने ओली र महतोलाई सम्झौतामा आउन दवाव परिरहेको थियो । धेरैको बुझाइ छ मधेश समस्याको समाधान प्रधानमन्त्री केपी ओलीकै हातमा पुगेर अड्किएको छ । ओलीले चाहेको अवस्थामा न धेरै वार्ता गर्नुपर्छ, न सहमतिको लागि महिनौ कुर्नु पर्छ । अव भने ओलीले त्यो बुझाइलाई सत्य सावित गर्ने संकेत दिएका छन् । ओलीको निम्तोमा काठमाडौं ‌ओर्लिएका महतो र ओलीको आमने सामनेले देशलाई ४ महिना देखि बन्धक बनाउने कारणको पनि अन्त्य गर्ने संकेत देखिएको छ ।

प्रधानमन्त्री भेट्नु अघि महतो भारतीय दुताबास छिरे

विमानस्थलमा महतोलाई कालो झण्डाः नारा “विदेशी दलाल होसियार” (तस्विर सहित)