१५ मंसिर, काठमाडौं ।

एमाले अध्यक्ष केपी ओलीले मंसीर ७ गते प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराको आमसभामा भने,’चार पटक प्रधानमन्त्री भएको जिल्लामा विकास यस्तै हुन्छ ?’ ओलीले डडेलधुराको विकास निर्माण नभएको मुद्दा मात्रै उठाएनन् त्यहाँ, देउवाको गृहजिल्लाबाटै उनलाई अन्तिम प्रधानमन्त्री भनेर चेतावनी दिए ।

लगतै देउवाले ओलीको निर्वाचन क्षेत्रमै ‘काउन्टर’ दिने सोच बनाए र देउवाकै आग्रहअनुसार गत सोमबार झापा कांग्रेसले निर्वाचन क्षेत्र ५ अन्तर्गत गौरादहमा कार्यक्रम आयोजना गर्‍यो । त्यही कार्यक्रमबाट देउवाले पनि ओलीलाई कम्युनिष्ट सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्दै जबाफ त फर्काए । तर, यी विपरित दुई ध्रुवको नेतृत्व गरेका नेताहरुको जुहारी भने अझै रोकिएको छैन । आजको कान्तिपुरमा खबर छ ।

बुधबार गृह जिल्ला आइपुगेका ओलीले विहीबार नै झापाका तीनवटा कार्यक्रममा सम्वोधन गर्दे प्रदेश र केन्द्रमा अब बाम गठबन्धनको सरकारलाई कसैले रोक्न नसक्ने भनाई दोर्‍याउँदै भने, देउवाको यो सरकारनै कांग्रेसका लागि अन्तिम हुनेछ ।’

ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाप्रति बढी नै आक्रामक बने, जति झापाका स्थानीय कांग्रेस उम्मेदवारप्रति भएनन । उनले केन्द्रका नेताहरुले विगारेको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताको सहानुभूति लिने प्रयास पनि गरे ।

विर्तामोड चोकमा आयोजना भएको कार्यक्रममा ओलीले ‘म्याचफिक्सिङ’ नहुने र राप्रपा उम्मेदवारलाई बेइमानी नगर्ने स्पष्टक्ति पनि दिए । झापा—३ मा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई म्याचफिक्सिङ हुने चर्चा चलीरहेका बेला त्यसै बिषयमा कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर ओलीले प्रष्टोक्ति दिएका हुन ।

स्थानीयस्तरमा यस्तो चर्चा चल्न थालेपछि राप्रपा उम्मेदवार राजेन्द्र लिङेनकै आग्रहमा ३ नम्वर क्षेत्रको भद्रपुरमै ओलीले विहीबार दोस्रोपटक सम्वोधन गरे । यसअघि पनि ओली उक्त निर्वाचन क्षेत्रमै पुगेर सम्वोधन गरेका थिए । ‘कांग्रेसका उम्मेदवार भलाद्मी होलान तर माथि (केन्द्र) मा गएर विगार्ने नै हुन, विगार्ने ठाउंमा उनीहरु सहभागी हुन्छन’ उनको भनाई थियो,‘राप्रपासँग तालमेल भईसकेपछि कुनैपनि हालतमा बेइमान हुन दिने छैनौं ।’ संगै उनले राप्रपाले लिएको संवैधानिक राजतन्त्रको शैद्धान्तिक अडानप्रति भने व्यंग्य गरे । ‘मरेको राजतन्त्र अब व्यूतिन्न’ ओलीले भने,‘महादेवले सतीदेवी काँधमा हाल्दा त सतीदेवी व्युँतिइनन् भने मरीसकेको राजतन्त्र कसरी व्यूउँतेला ? यस्तो थोत्रा कुराका पछि नलाग्नुहोस ।’

०६४ सालको चुनाव बाहेक निरन्तर झापाबाट निर्वाचित हुँदै आएका ओलीलाई यतिबेला भावी प्रधानमन्त्रीको रुपमा समेत लिन थालिएको छ । सार्वजनिक रुपमा ओली स्यमले बाम गठबन्धनको नेतृत्वमा एमाले रहने भन्दै आफू प्रधानमन्त्री हुने संकेत समेत सार्वजनिक रुपमै गरे ।

झापामा तेस्रो राजनीतिक शक्ति रहेको राप्रपा बाम गबठन्धनमै जोडिएकाले ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भने कुनै खतरा महसुस गरेका छैनन । ओलीविरुद्धको प्रतिस्पर्धामा कांग्रेसका डा. खगेन्द्र अधिकारी छन् । प्राध्यापन पेशाबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस उम्मेदवार अधिकारी नयाँ अनुहार हुन । गत सोमबार गौरादहमा भएको आसमभाबाट उनी उत्साही भएको बताउँछन ।