सचित देवकोटा

नेपालको राजनीति सरल रेखामा हिडेको उदाहरण हतपत्ती भेटिन्न। बटारिरहनु र गञ्जागोल हुनु र भद्रगोल हुनु नेपाली राजनीतिको आम विशेषता बनेको छ। सम्झौता पालन नहुनु, समझदारीको सम्मान नगरिनु सामन्य जस्तै छ । त्यस्तै एउटा अर्को सम्झौता पनि खतरामा पर्न थालेको आशंका गर्न थालिएको छ।

लेखक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच नौ- नौ महिना सत्ता चलाउने सम्झौता भएको थियो। निकै सकसपछि प्रचण्डले देउवासंग सम्झौता गरेर ओली नेतृत्वको सरकार ढालेका थिए।

सम्झौताको पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। सम्झौता अनुसार अबका तीन महिनामा प्रचण्डले देउवालाई सत्ताको ताला चाबी बुझाउनु पर्ने हुन्छ । तर केही समय यताका परिस्थितिलाई राम्ररी नियाल्दा प्रचण्ड समयमै सत्ता बुझाउन राजी नहुन सक्ने संभावना देखिएका छन्।

गणितिय हिसावले अहिलेको गठबन्धनमा कांग्रेस ठूलो पार्टनर त हो तर देउवा प्रधानमन्त्री नै हुन नपाई जारी गठबन्धन भत्किने खतरा देखिएको छ। प्रहरी महानिरिक्षको नियुक्तीमा दुइ पार्टी र खास गरि प्रचण्ड र देउवाबीच सम्वन्ध अमिलिन थालेको बताइन्छ।

त्यसपछि राजदुत नियुक्तिमा गड्याङगुडङ भएको चर्चा छ। त्यसभन्दा पनि अघि बढेर माओवादी केन्द्रको आन्तरिक समिकरण यसका लागि जिम्मेवार हुन सक्छ।

माओवादी केन्द्रमा एमालेको सत्ता समिकरण तोड्न नहुने पक्षमा पनि ठुलै संख्या थियो।

प्रचण्ड नजिककै नेताहरुले वामपन्थी भएका कारण माओवादी केन्द्र र एमाले मिलेर जानु पर्ने तर्क राख्ने गरेका थिए। माओवादी केन्द्रको सोही नेता पंति अहिले पनि कांग्रेसलाई सत्ता बुझाउन नहुनेमा लागेको छ।

केही दिनयता प्रचण्डको एमाले अध्यक्ष केपी ओलीसंग भेटवार्ता बढेको छ। आफ्नो सत्ता ढालिदिएपछी चित्त दुखाएका ओलीले प्रचण्डसंग लामो समय राम्रो सम्वन्ध राखेका थिएनन्। तर पछiल्लो समयमा ओलीको मनोविज्ञानमा फेरबदल देखिएको छ ।

स्रोतहरु दाबीलाई मान्ने हो भने त- ओलीले देउवालाई प्रधानमन्त्री समर्थन नगर्न बरु बजेट ल्याउने बेलासम्म आवश्यक परे आफैले समर्थन गरिदिने ढाडस दिएका छन।ओलीले त्यसपछी दुइ दल मिलेर सत्ता चलाउने प्रस्ताव गरेको बताइन्छ।

ओलीको कुरो को चुरो, प्रचण्डलाई केही समय प्रधानमन्त्री समर्थन गरिदिएर केही समयमा फेरी आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेर पुरानै माओवादी एमाले सत्ता गठबन्धन ब्युँत्याउनु रहेको बूझ्न सकिन्छ ।

प्रचण्ड र ओलीबीच यस किसिमको समझदारी बन्यो भने देउवाको प्रधानमन्त्री बन्ने सपना धरापमा पर्नेछ।