९ असोज, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफुनै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विवाद चुलिदैं गएको बताएका छन् ।Bamdev-Gautam Kp Oli

प्यूठान–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा उनले अध्यक्ष ओलीप्रति निकै रोष व्यक्त गरेका थिए । एमालेमा हक्की स्वभावका मानिने उपाध्यक्ष बामदेवले अध्यक्ष ओलीसंग आफ्नो मतभेद बढ्दै गएको बताएका हुन् ।

उनले केपी शर्मा ओली आफ्नो समर्थनमा नै पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै पछिल्लो समय माओवादी केन्द्रसँग सरकारको गठबन्धन टिकाउने सवालमा भने मतभेद भएको बताए । तर, पार्टीको संसदीय दलको निर्वाचन ताका नै शर्तसहित ओलीलाई सघाएका बामदेवले अहिले ओलीले ती शर्तको पालना नगरेको उनका निकटस्थहरूलाई बताउने गरेका छन् ।

ओलीले आफू पार्टी अध्यक्ष भएछि संसदीय दलको नेता बामदेवलाई बनाउने शर्त गरेको बताइन्छ । सोही अनुसार ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्ष बनाउन दिलोज्यानले लागेका सोझा बामदेव ओलीले शर्त लत्याएपछि रुष्ट भएको बताइन्छ ।

उनले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्ने उनको भनाई छ ।

उनले नेपालको संविधान सबैले मान्नु पर्ने भन्दै संविधानका बारेमा एकदिन दुईदिन फरक धारणा राख्न सकिए पनि संविधान जारी भएको एक वर्ष पुग्दा पनि मान्दैनौँ भन्नेलाई कारबाही गर्नुपर्ने बताए ।

उनले देशलाई विखण्डन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै एमालेबिना संविधान संशोधन हुन नसक्ने ठोकुवा पनि गरे । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका गौतमले निर्वाचन नगराएर सरकारले देशमा संवैधानिक, राजनीतिक सङ्कट ल्याउन खोजेको आरोप पनि लगाए ।