काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमण सकेर बुधबार राति काठमाडौं ‌ओर्लिएका छन् । दिल्लीमा रहँदा देखि मुम्बइ यात्रा र फर्केर काठमाडौं आइपुग्दा पनि ओलीले एउटा कुरा दोहोर्‍याइरहेका छन्, “भारत र नेपालबीच अब समझदारी हट्यो, मेरो भ्रमण सफल भो” ।

काठमाडौं त्रिभुवन विमानस्थलमा ओर्लिएपछि ओलीले भारतबाट प्राप्त आतिथ्यतालाई सम्पूर्ण नेपालीप्रतिको सम्मानको रुपमा लिएको बताउँदै भारतसँग देखा परेको कतिपय असमझदारी हटाउन भ्रमण फलदायी रहेको भनाइ राखे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘भारतसंगको सम्पूर्ण असझदारी हट्यो, १९५० को सन्धि लगायतका समस्याहरु आगामी भ्रमण मार्फत टुंगो लगाउँछौ ।’ ओलीले भ्रमणले भारत नेपालबीच असम्झदारी हटाएको र भ्रमण सफल भएको बताइरहेपनि विश्लेषकहरुले भारतले पुनः नेपालका नेतालाई औकात देखाइदिएको टिप्पणी गरेका छन् ।

Oli return from India

ओलीको अमिल्दो बोलीः भारतलाई फाइदा 
प्रधानमन्त्री भएपछि नाकाबन्दी नहटेकोमा रुष्ट भएका ओलीले त्यतिबेला भारतले युद्धको बेलामा पनि नगर्ने ब्यवहार गरेको भन्दै आक्रामक अभिब्यक्ति दिएका थिए । उनको आक्रोशको पारो बढ्दै जाँदा उनले आफू पहिलो विदेश भ्रमण भारत नभएर चीन समेत जान सक्ने समेत बताए ।

PM KP Oli speaking

२ पटक भारत गएर फर्किसकेका परराष्ट्रमन्त्री कमल थापालाई चीन पठाएर उनले भारतलाई आफू पहिले चीन जान सक्ने देखावटी संकेत दिएर दवाव बढाएपनि अन्ततः भारत भ्रमणकै लागि मरिमेटेको पुष्टि आफैले गरे । प्रधानमन्त्रीको स्तरमा शक्तिशाली छिमेकीविरुद्ध उग्र अभिब्यक्ति दिएर राष्ट्रवाद प्रवर्द्धन गर्न खोजेका ओलीले चीन जाने भन्ने कुरा (अवस्तविक इच्छा) लाई केवल कार्डकोरुपमा प्रयोग गरेको त्यतिबेला पुष्टि भयो जतिबेला उनले भ्रमणका लागि वातावरण बनाउन भन्दै भारतीय इच्छा पुरा गर्न तयार भए । हतार हतार संविधान संसोधन र राजनीतिक संयन्त्र गठन त्यसकै उदाहरण भएको ठान्छन् विश्लेषकहरु ।

ओलीको भारत भ्रमणः किन जारी भएन संयुक्त विज्ञप्ति ?
राम माधवसँग ओलीको १ घण्टा लामो रहस्यमय गोप्य वार्ता !

अघोषित नाकाबन्दीको भौतिक खुलाइले मार्ग सहज भएपछि भारत भ्रमणमा गएका ओली दिल्लीमा चाहिने भन्दा बढी फुर्किएका देखिए । भारतले नचाहिने काम गरेको र भारतले गल्ती महसुस गरेर नाकबन्दी खोलेको भन्ने दावी गर्दै आएका ओलीले जति पटक असमझदारी हटेको भनेर बढाइ चढाइ गरेपनि खासमा भन्नै पर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोहीकुरा एक पटक पनि भनेनन् । यदि ओलीले भनेको जस्तो अवस्था भएको भए नेपालले भन्दा बढी यस्तो भाषा भारतीय पक्षबाट हुनु पर्थ्यो । भारतले नाकाबन्दी लगाएर नेपाललाई दुःख दिएको भन्ने कुरा आधिकारिकरुपमा स्वीकार गर्न किन्चित चाहेन ।

Kp-oli-And-Modi

मोदीले नेपालको संविधानलाई घुमाउरो स्वागत त गरे तर उक्त स्वागतमा रहेको ‘तर’ भन्ने पदावलीले तत्काल भारतको रवैया पुरै परिवर्तन नहुने स्पष्ट संकेत देखिन्छ । ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा मोदीले दशकौंको संघर्षपछि नेपालमा जारी संविधान एक महत्वपूर्ण सफलता भएको बताएपनि संविधान कार्यन्वयनका लागि ‘तर’ पदावलीको प्रयोग गरेर भारतीय असन्तुष्टि अझै पनि साम्य भैसकको छैन भन्ने स्पष्ट पारे । जुन कुरा भारतले नेपालको संविधानलाई स्वागत गरेको र दुई देशबीचको असमझदारी हटेको भन्ने शब्दावली प्रयोगसहितको नेपालको अडानमा भारतले सहमति नजनाएका कारण संयुक्त विज्ञप्ति जारी हुन नसक्नुले छर्लङ्ग पारेको छ ।

कायमै रहेको भारतीय रवाफ
शुरुमै भारत विरोधी माहौल बनाएर सत्तामा आएका ओलीलाई भारतले भारतमै बोलाएर औकात स्मरण गराएको छ । राजकीय भ्रमण भनिएपनि कमै राजकीय ब्यवहार देखाइएको ओलीको भ्रमणको अन्त्यमा संयुक्त बक्तब्य जारी गर्न अस्वीकार गरेर भारतले जतिसुकै राष्ट्रवादी देखिएपनि तह लगाउन सक्छ भन्ने पुष्टि गरेको कतिपयको बुझाए छ ।

INDIA-NEW DELHI-NEPAL-VISIT

शुरुमा भारतविरोधी अभिब्यक्ति दिने उग्र वातावरण बनाएर पछि झुकेरै भारत नै पहिलो भ्रमण हुनु पर्ने अवस्थामा मोदी सरकारले ओली सरकारलाई पुर्‍याएको छ । विडम्बनाको कुरा त भारत झुकेको भनेर भारत गएका ओलीले दुई देशबीचको असमझदारी हटेको भन्दै दर्जनौं पटक दोहोर्‍याउँदा पनि भारतीय पक्षबाट एक पटक पनि उक्त शब्दावली प्रयोग भएन । भारतको विकल्पहिनता पुष्टि गराउन भारतले ओलीलाई साइजमा राखेर ब्यवहार गर्‍यो । राजकीय भ्रमण पनि भएपनि ओलीलाई लिन विमानस्थलमा मोदी आफै नआउनु, राजकीय भोजको आयोजना नहुनु, ओली दिल्लीमै हुँदा मोदी दिल्लीबाहिर घुम्न निस्किनु, संयुक्त विज्ञप्ति निकाल्न अस्वीकार गर्नुले भारतले ओलीलाई मिठो स्वागत तर नमिठो विदाइ गरेको छ ।

चीन जान्छु भनेर भारतप्रति धम्कीको जस्तो देखिने भाषा बोलिरहेका ओलीलाई दिल्लीमा स्वागत गरेपनि साइजमा राखियो । ओली भारतमै रहेको समयमा भारतीय आयल निगमले नियन्त्रित परिमाणमा इन्धन दिनु, मधेशका माग पुरा गर्न माग गर्दै भारतीय पूर्वमन्त्री सहितका ब्यक्तिले नेपाली दुताबासमा धर्ना दिनु सांकेतिकरुपमा ओलीको अडानमाथिका आक्रमण थिए ।

खासमा के हो भारतको चाहाना
भारतले चाहेको के हो भन्ने कुरा धेरै अघि देखि नेपाली राजनीतिमा खोजी भैरहेको प्रश्न हो । यो पटकको भेटमा यो प्रश्नको जवाफ औपचारिक र घोषित भेटवार्तामा नभएर अघोषित र रहस्यमय भेटवार्ता गरेका पात्रले दिएको श्रोत बताउँछ । ओलीले दिल्ली भ्रमणमा मोदीसँग भन्दा बढी वान टू वान वार्ता गरेका हिन्दुवादी भारतीय जनता पार्टीका महासचिव राम माधवले ओलीलाई भारतको चाहाना बुझाएको बताइन्छ । मोदीको पार्टीका महासचिवसँग ओलीले विताएको १ घण्टा शेड्युलमा नरहेको समय थियो । राममाधवले ट्वीटरबाट ओलीसँग १ घण्टा लामो वार्ता गरेको खुलासा गरेपछि मात्र नेपाली मिडियाले चाल पाएका थिए ।

ओलीको भारत भ्रमणमा भारतले असन्तुष्टि जनाइरहेको हिन्दु राष्ट्र हटाएको विषय, संविधानको पुनर्लेखन र राजसंस्थाको विषयमा समेत गोप्य एजेण्डामा सहमति भएपछि मात्र तय भएको चर्चालाई भारतको फछिल्लो ब्यवहारले पनि थप बल प्रदान गरेको छ ।