२८ कात्तिक, काठमाडौं ।
सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई बिक्री गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ।

pillsmedicine

सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्वारा करिब ६ महिनाअघि गठित उच्चस्तरीय समितिले यस्तो निष्कर्ष निकालेको हो । बिचौलियाले अनुचित र आश्चर्यजनक रुपमा मूल्यवृद्धि गरेकाले औषधि २२ सय प्रतिशतसम्म महँगो भएको हो ।

समितिले सरकारलाई सोमबार बुझाएको प्रतिवेदनमा लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव छ । आजको कान्तिपुरमा खबर छ ।

करिब ६ महिनाअघि स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा ‘सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिस गर्न’ मन्त्रिपरिषद्द्वारा गठित उच्चस्तरीय समितिले सरकारलाई उक्त सुझावसहितको प्रतिवेदन सोमबार बुझाएको हो । प्रतिवेदनअनुसार उक्त औषधि सरकारी अस्पताल प्रयोजनका लागि मात्र भन्ने स्टिकरसमेत प्रयोग गर्नुपर्ने छ । नुन, चिनी तथा रासायनिक मल व्यवस्थापनका लागि स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसनजस्तै छुट्टै संयन्त्र औषधि वितरणका लागि गठन गर्नुपर्ने छ ।