नवराज विक ।

११ भदौ, दोहा (कतार) ।
तीन वर्ष अगाडि कतार आएका लुम्ले–२ कास्कीका भवानीशङ्कर चापागार्इं यतिखेर नेपाल फर्किन नपाएर पीडाका दिन झेल्दै छन् ।

हाइ इन्जिनियरिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत चापागाईं आफ्नी आमाको निधन भएको अवस्थामा समेत कम्पनीले घर नपठाउँदा उनी समस्यामा परेका हन् । यतिखेर उनका पितासमेत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नाजुक अवस्थामा उपचारार्थ छन् ।

qatar1

पीडित चापागाईँले भने, “घरको तनाब एकतिर हुँदाहुँदै पनि अहिले कम्पनीले न त तलबै दिन्छ, न त घर जान बिदा नै दिन्छ, काम गरेको राम्रोसँग तलब नदिएको छ महिना भइसकेको छ भने दुई महिनादेखि न काम न दाम खाली हात बस्नुपरेको छ ।”

घर जान पटक पटक प्रयास गर्दा समेत उनी कार्यरत कम्पनीले बेवास्ता गरिदिँदा उनी दूतावासमा आफ्नो समस्या लिएर गएका थिए । दूतावासले श्रम अदालतलाई पत्र लेखिदिएको थियो तर अदालतले कम्पनीको मालिकलाई बोलाउँदा उनी नगएपछि उनको काम कहीँ कतै टुङ्गोमा पुग्न सकेको छैन ।

“कम्पनीका मालिक पाकिस्तानी हुन्, तिमीलाई नेपाल पठाउँदि, जे गर्न सक्छौ गर” भन्दै मलाई धम्काउने गर्छन्” पीडितले भने ।