२८ जेठ, काठमाडौं ।

केही दिन अघिदेखि कतारमाथि ६ वटा खाडीमुलुकले नाकाबन्दी लगाएका छन् । ति देशहरुले कतारसँगको जलमार्ग, हवाईमार्ग र स्थलमार्ग सबै बन्द गरेका छन् । यतिसम्मकी कतिपय देशले आफ्नो आकाशमा कतारी विमानलाई उड्न समेत प्रतिबन्ध लगाएका छन् ।

कतार यस्तो मुलुक हो जहाँ लाखौं नेपाली कार्यरत छन् । खाडी मुलुकहरु मिलेर कतारलाई एक्लाइएपछि त्यहाँ रहेका नेपालीको भविष्यका बारेमा चर्चा र बहस सुरु भएका छन् । वास्तवमा त्यहिँ रहेका नेपालीले चाहिँ यो घटनालाई कसरी हेरेका छन् र यसले उनीहरुलाई कत्तिको प्रभाव पारेको छ । हामीले यहि विषयमा कतारमा रहेका केही नेपालीसँग कुराकानी गरेका छौं :

उड्डयन क्षेत्रमा प्रभाव पर्दैछ

           प्रकाश जिसी- नारिकोट, प्यूठान

म आएको १० वर्ष पुरा भयो । म अहिले दोहामा छु । नाकावन्दी लगाएका देशमा उडान नियमित भएको छैन । अरु क्षेत्रमा प्रभाव नपरेपनि उड्ड्यन क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ । हामी नेपाल जाँदाको फ्लाइट टाइम पौने ५ घण्टा हो ।

अहिले ती मुलुकहरुले आफ्नो आकास पनि प्रयोग गर्न नदिने भनेकाले उडान समय २ घण्टा थप भएको छ । त्यस्तै अन्यत्रबाट आउने फ्लाइटको पनि समय बढेको छ । लामो समय नाकाबन्दी रहे अरु क्षेत्रमाा पनि प्रभाव पर्न सक्छ ।

कतार आत्म निर्भर छैन । परनिर्भर नै हो । उत्पादनका लागि यहाँको माटो उपयुक्त छैन । त्यसैले धेरै सामान बाहिरबाट आउने गरेको छ । नाकान्दी पछि पनि अहिलेसम्म सबै सामान प्रयाप्त नै पाइएको छ । तर सम्भव त हरियो तरकरीको अभाव हुन सक्छ । तर यहाँका मिडियाहरुले अरु देशबाट आयात गरेर भए पनि अभाव हुन नदिने बताएको जनाइरहेका छन् । यहाँ रहेका नेपाली धेरै आत्तिएको देखिनैन ।

सैन्य कारवाही भयो भने चाँही खतरा हुन सक्छ । तर सायद वार्तावाटै समाधान गर्ने प्रयासहरु पनि भएका छन् । कतार आप्रवाीले भरिएको देश हो । यहाँ २८ लाख जनसंख्या रहेकोमा ४ लाख मात्र कतारी छन् । बाँकी सबै आप्रवाी हुन् । त्यसैले आप्रवासी सबैले ढुक्कले काम गरेको देखिन्छ । सहज रुपमा अफिस जाने आउने काम भइइरहेको छ ।

सन २०१४ मा केही देशले आफ्ना राजदुत फिर्ता बोलाएका थिए । तर नाकावन्दीको अनुभव यहाँका मान्छेलाई थिएन । बोल्नका लागि पनि त्यति स्वतन्त्र नभएको देश हो कतार । जनजिवन त्यति प्रभाावित भएको छैन, जति चर्चा भएको छ ।

अरु असर छैन, मानसिक तनाव बढेको छ

दीपक नाथ – महेन्द्रनगर, कञ्चनपुर
अहिलेसम्म अरु असर परेको छैन । तर मानसिक तनाव बढेको छ । युद्ध हुने हो कि घर जानु पर्ने हो कि भन्ने भएको छ तर कम्पनीले भने नआत्तिन भनिरहेका छन् । यहाको सरकारले केही हुँदैन । प्रवासीहरु आत्तिनु पर्दैन, सामन्य हुनछ, समानको अभाव हुन दिँदैनौं भनेको छ भन्ने सुनेका छौं ।

कतारमा आयात हुने खाद्यन्न मध्ये ४० प्रतिशत जति त साउदी अरवबाट नै हो । तर कतारले हवाई र जल मार्ग बन्द गरेको छ । सुनेका छौं इरानबाट खाद्यान्नको पानी जहाज अघि बढेको छ रे । समानको अभाव हुँदैन, केही मूल्यबृद्धि हुन सक्छ भनिएको छ । अन्यत्र मूल्य बढेको छैन । तर सुपरमार्केटहरुमा एक दुई रियल जति मूल्य बढेको छ ।

नाकावन्दी भयो भनेर नै नेपाल फर्कने मान्छे अहिलेसम्म देखिएका छैनन् । तर युद्ध नै हुने अवस्था आएमा भने धेरै फर्कनै पर्छ । नेपालका केही अनलाइन मिडियाले त्यसमा पनि एउटा बुटवल अनलाइन भन्नेले जथाभावि समाचार दिएको, कतारमा भयंकर लडाइन हुने भयो, त्यहा रहेका नेपालीको विजोगै हुने भयो भन्ने जस्ता समाचार लेखिएको अनि जथाभावि फेसबुकमा पोष्ट गरेको देख्यौं ।

वास्तविकता त्यस्तो छैन । कतारमा झण्डै ५ लाख नेपाली होलान् । म ती सबै नेपालीको तर्फबाट बिनम्र अनुरोध गर्छु कि वास्ताविकता नबुझि अनावश्यक मानसिक यातान दिने काम बन्द गरिदिनुहोला । किनकी परदेशी मन न हो, सानो कुराले पनि मन छुन्छ, नकारात्मक असर पर्छ ।

              बालकल्याण गिरी- लिवाङ, प्यूठान

महंगी बाहेक अन्यत्र प्रभाव देखिएको छैन

म कतार आएको ३ वर्ष पुरा भयो । नाकावन्दी छ तर त्यसको प्रभाव हामीले बाहिर चर्चा गरिए जस्तो अहिलेसम्म देखेका छैनौं ।

तर अरु देशबाट आउने खाद्यन्न रोकिए पछि महंगी निक्कै चर्को पर्ला जस्तो देखिएको छ । महंगि दिन दिनै बढिरहेको छ ।

अहिलेसम्म हामीले हाम्रो कम्पनिसँग पनि कुरा गरेका छैनौं । नेपाली मात्र नभइ अरु धेरै देशका आप्रवासी रहेकाले उनीहरुको जे होला, हाम्रो पनि त्यस्तै त हो भनेर चुप लागेर बसिरहेका छौं । महंगी बाहेक अन्यत्र असर परेको देखिएको छैन ।

समाचारहरुमा दुई अढाई वर्षसम्म खाद्यन्न स्टक राखेको छौं भनेको यहाँका सञ्चार माध्यामले भनेको सुनेका छौं ।

नाकावन्दी लगाउनुका दुईवटा कारण छन्

नारायणप्रसाद नेपाल- मातातिर्थ काठमाडौं

जव नेपाली नेपाली भेट हुन्छ, त्यति बेला मात्र नाकावन्दीको कुरा हुन्छ । कम्पनीले केही भनेको छैन । अवरी भाषा हामीलाई आउँदैन । नेपाली मिडियाहरुले जे दिन्छ हामी त्यही हेरिरहेका छौं ।

मलाई त्यति धेरै डर लागेको छैन । यो आफ्नो स्वभावको कुरा पनि होला । छिमेकीको सम्बन्ध हो । नेपालमा पनि भारतले ६ महिनासम्म नाकावन्दी लगाएको थियो । अहिले समाधान भइसकेको छ । यो पनि समाधान होला ।

कतार एउटा सानो देश भए पनि शक्तिशाली देशहरुको बीचमा राम्रो प्रगति गरेको देश हो । सन २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गरेकाले पनि छिमेकीको इश्र्या हो जस्तो लाग्छ । अमेरिकी राष्टपतिले केही समय अघि साउदी अरवको भ्रमण गरेर स्वदेश फर्के पछि यो नाकावन्दी लागेको छ ।

र्को कारण भनेको गत साल साउदीमा हज गर्न जाने बेलामा धेरै मान्छे दुर्घटना परेर मरे । इरानले मेरो मात्र मान्छे किन मरे भनेर सोधेको प्रश्नमा साउदीले दुर्घटना भनेर जवाफ फर्कायो । तर साउदीले इरानमा आतंकवादी संगठन इस्लामिक स्टेट आइएससँग मिलेको भन्ने आरोप लगायो ।

त्यही अनुसार साउदीले कतारमा रहेका सबै इरानीलाई स्वदेश फिर्ता गर्न दवाव दिएको थियो र कतारले त्यो नमानेका कारण पनि द्धन्द्ध भएको हुन सक्ने देखिन्छ । साउदी कतार जस्तो होइन निक्कै ठूलो देश हो । त्यसैको प्रभावमा कतार परेको छ ।