२४ असार, एजेन्सी ।
कतारले चार छिमेकी मुलुकका माग अस्वीकार गरेपछि ती अरब मुलुकले कतार विरुद्ध थप नयाँ कदम चाल्ने चेतावनी दिएका छन् । साउदी अरेबिया, बहाराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले ती कदम कस्ता हुनेछन् भनेर खुलाएका छैनन् ।

कतारका छिमेकी चार मुलुकले अरब क्षेत्रको सुरक्षालाई जोखिममा पार्ने नीति जारी राखेको आरोप लगाएका छन् । त्यसका विरुद्ध ठिक समयमा उचित कदम चाल्ने उनीहरुले बताएका छन् ।

उनीहरुले कतारमाथि आतंकवादलाई सहयोग गरेको र इरानसंग सम्बन्ध राखेको आरोप लगाउँदै गत जुन महिनामा सम्पर्क विच्छेद गरेका थिए । कतारले भने आफुले केही गल्ती नगरेको बताउदै आएको छ ।