अस्मिता खड्का

अमेरिकामा प्रतिष्ठित क्विन फिल्म फेस्टिभलको तिनवटा विधामा मनोनित फिल्म डाइङ क्यान्डल अर्थात निभ्न लागेको दियो शुक्रबार देखि विभिन्न नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ।

सिनेम्याटोग्राफि, वेस्ट एक्ट्रेस र वेस्ट फिल्म विधामा मनोनित नेपाली फिचर फिल्म हो । डा नरेशकुमार केसीद्धारा निर्देशित फिल्म निभ्न लागेको दियोमा दिदीभाइबीचको आत्मीयता कथा प्रस्तुत गरिएको छ । जहाँ दिदी क्षमी (सिर्जना सुब्वा), ९ वर्षीय टिप्के (लाक्पा सिंह तामाङ), बुढिआमा (विद्या कार्की), जनक लाल (सौगात मल्ल) र अर्पण थापा (मुकुन्द) मुख्य पात्रका रुपमा रहेका छन् ।

डा केसीद्धारा निर्देशित फिल्म डाइङ क्यान्डलको चर्चा जति सुनिएको थियो त्यो भन्दा बढि उत्साहित भएर फिल्म हेर्न हलतिर लागियो । ग्रामिण परिवेश, गाउँका वास्तविक सुन्दर प्राकृतिक दृश्य, सामाजिक झाँकी, पञ्चेवाजासहितको विवाहले दर्शकको राम्ररी ध्यान तान्छ ।

जब फिल्ममा एउटै दृश्य दोहोरिरहन्छ त्यो जस्तो दिक्कदार सायद अरु नहोला । फिल्ममा एउटा घर र त्यहाँभित्रको अध्यारोबाहेक अरु दृश्य मुस्किलले देख्न पाइन्छ । मनमा जे आशा लिएर गइएको थियो त्यो सबै हराउदै जान थाल्यो । फिल्ममा अव के होला भन्दा भन्दै कथा सकिन्छ । र कथा एकदमै अपुरो लाग्छ ।

विना मसलाको यस फिल्ममा रोमान्स, फाइट, संगित देख्न पाइदैन । फिल्ममा कथा साझ ७ बजे सुरु भएर रातिको ११-१२ बजेतिर सिद्धिन्छ । अथवा भनौ मात्र एक साँझको कथालाई फिचर फिल्मको रुप दिन खोजिएको फिल्ममा सिनेमेटोग्राफिले मन लोभ्याउँछ । कथाका बालकलाकार टिप्केको र सौगात मल्लको अभिनयले फिल्म हेरिरहु जस्तो लाग्छ । अझ चलचित्रका पात्रहरुको ठेट तामाङ लवजले तामाङ गाउँनै पुगेजस्तो अनुभुति हुन्छ ।

फिल्मले एउटा समाजको यथार्थ चित्रण समेटेको छ । रसुवाको दुर्गम गाउँको एउटा गरिब तामाङ परिवारको कथा हो । जहा संघर्ष, पिडा र निराशालाई दर्शाइएको छ ।

करिब २० वर्ष अघि अर्थात् १९९८ को पृष्ठभुमिबाट फिल्म सुरु हुन्छ । त्यतिबेलाको हाम्रो समाज र नारीप्रतिको धारणा र नारी अस्तित्वको बारेमा चित्रण गरिएको छ ।

खासमा दिदीभाइको कथा बुनिएको भनिएको यस चलचित्रमा बुवाको मृत्युपछि परिवारको एकमात्र अविवाहित छोरी क्षमीले परिवार सम्हालेकी हुन्छिन् । अन्य दुइजना बहिनीको विहे भइसकेको हुन्छ भने एउटी चाही मामाघरमा हुन्छिन् । तर फिल्ममा अन्य तिनवटी दिदीबहिनीको अनुहार फोटोमा मात्र देख्न पाइन्छ । फिल्ममा एक अर्कालाई ज्यादै माया गर्ने दुइ दिदीभाइ मात्र घरमा हुन्छन् ।

अविवाहित क्षमीलाई समाजले बुढिकन्याको रुपमा हेर्छ । आमा धुमपानले गर्दा क्षयरोगको विरामी हुन्छिन् । असहाय आमा र भाइको पीरले क्षमीले विहे गर्दिनन् । भाइलाई धेरै नै पढाउन चाहन्छिन् । मुकुन्दे र जनकलाल अर्का मुख्य पात्र हुन् जसले क्षमीलाई मन पराउछन् ।

जनकलाल विवाहित हो भने मुकुन्द शिक्षित तर बेरोजगार युवा । सबै पात्रको आ आफ्नै आशा हुन्छ । तर त्यो आशा मर्दै जान्छ । सायद यहि अर्थमा निर्देशक केसीले फिल्मको नाम निभ्न लागेको दियो राखेको हुनुपर्छ ।

फिल्मको पटकथा यतिमै टुङ्गीन्छ । दिदीभाइबीचको आत्मीयताबारे भनिएको फिल्मले विचमा अर्कै मोड लिन्छ। फिल्ममा देखाइएका साङ्केतिक दृश्य जस्तै क्षमीले टिप्केलाई पढ् भन्दा कितावको सट्टा हलोसंग खेल्नु, चुडिएको चप्पल टाल्नु, कागजको डुङ्गा पल्टिनु र अन्त्यमा ठुलो माछा मर्नु, त्यपछि सानो माछा मर्नु र अर्को माछा छट्पटिनु आदिले क्षमी, टिप्के र बुवासंगको सांकेतिक सम्वन्धलाई दर्शाएको पाइन्छ ।

तर फिल्म हेर्दै जादा थुप्रै कमजोरीहरु भेटिन्छन् । सम्पादन नगरिएका जस्ता लामा दिक्क लाग्ने सम्वादहरु पनि फिल्ममा समावेश गरिएका छन् । दृश्यले बताइरहेको ठाउँमा पनि अनावश्यक सम्वाद थुपारिएका छन् । जसले फिल्म नभई नाटक हेरिरहेको होकी जस्तो भान हुन्छ ।

तामाङ परिवारको कथामा भाइ टिप्केले मात्र तामाङ लवज ल्याउँछन् बाकी सबैमा शुद्ध नेपाली लवज आउँछ । साथै हिन्दुसंस्कार अनुसार विहे गरेको देखाइनु, भाइटिका लगाएको, बुद्धको मुर्तीसंगै दियो राख्नु र क्षमीकी आमाले मर्नुअघि पशुपति दर्शन गर्ने इच्छा राख्नु फिल्ममा एकदमै अस्वभाविक लाग्छ ।

यसवाहेक दृश्यमा क्षेमी र आमाबीच कमजोर सम्वाद छ भने फितलो सम्बन्ध छ । गरिव परिवार र गाउँमा टिप्केका साथीहरुसंग गाडि भएको अभिव्यक्ति दिनु, अनी टिप्केले ठुलो भएपछि डलर कमाउछु भन्नु जस्ता वाक्यांश सिधै बनावटी लाग्छन् ।

सौगात मल्ल (जनकलाल)ले रक्सी पिएर मात्तिएको भुमिकाले एकछिन रमाइलो गराउँछ । उसलाई उपचारको लागी काठमाडौ लैजादै गर्दा कथाको अन्त्य हुन्छ । कथाको ‘स्याड इन्डिङ’ हुन्छ।

निर्देशन पक्ष कमजोर देखिदाँ फिल्म दमदार लागेन। हरेक फिल्म नयाँ शैलीमा आधारित हुन्छन् । पात्र, परिवेश अनुसार कथा फरक हुन्छन् । तर त्यसलाई कसरी प्रस्तुत गर्ने र कसरि दर्शकको मन जित्ने भन्ने कुरा निर्देशक र निर्माताको हातमा रहेको हुन्छ । त्यसैले डा. केसीद्वारा निर्देशित आगामी चलचित्रहरुले दर्शकको मन जित्न सकुन । हलबाट बाहिरिदा निराशा होइन केही आशा बोकेका कथा देख्न पाइयोस् ।

बलिउड प्रेमीहरुलाई यो फिल्म मन नपर्न सक्छ । परम्परागत वास्तविकतामा आधारित कालोपोथी, सेतो सूर्य जस्ता फिल्म मन पराउने दर्शकले भने ‘डाइङ क्यान्डल’ एकपटक हेर्नुपर्ने फिल्म हो।