८ फागुन, काठमाडौं ।
रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले ह्वात्तै बढेको छ । पहिलेदेखि नै राजावादी छवि बनाएकी वलीलाई तीन महिना अघि राप्रपाको एकीकरण घोषणामा कमल थापाले टिको लगाएर पार्टीमा भित्र्याएका थिए ।

उनै वलीलाई अहिले राजसंस्था, हिन्दुधर्मको मुद्दा उठाउँने राप्रपाको केन्द्रीय सदस्य बन्ने धून बढेको छ । तीनदेखि काठमाडौंको प्रदर्शनीमार्गमा चलिरहेको एकता महाधिवेशनमा वलीको चर्चा छुट्टै छ ।

अन्य दलहरुलाई पछि पार्दै राप्रपाले यसपटक केन्द्रीय सदस्यमा मात्रै महिलाहरुको लागि ३३ प्रतिशत सिट सुनिश्चित गरेको छ । तर, वलीलाई समावेशीता र आरक्षण चाहिएको छैन । उनी खुल्ला केन्द्रीय सदस्यमा लड्नेभन्दै साडी र ब्लाउजमा सजिंदै भोट माग्न व्यस्त छिन्। ‘म कोमल वली, आरक्षण महिलामा होइन है, खुल्ला केन्द्रीय सदस्यमा उठेकी छु, एक भोट मलाई’ महाधिवेशन प्रतिनिधिसँग भोट माग्दै उनी प्रदर्शनीमार्ग यस आसपासको भृकुटीमण्डपभित्र यसैगरी व्यस्त छिन् ।

यो पढ्नुस्: राप्रपामा पाँच सय बढी उम्मेदवार

मिठो स्वरकी धनी यी सेलिब्रेटी नवनेत्रीलाई हुँदैन भोट दिन्नौं भन्ने कोही निस्कने अवस्था पनि छैन । सबैले दिदीलाई नदिए कसलाई दिने ? तपाईंलाई एक भोट पक्का भन्दै उनको अभियानमा हौसला थपिरहेका भेटिन्छन् ।

प्रतिनिधिले यस्तो भनेपछि उनी मख्खपर्छिन र भन्छिन्, ‘धेरैले मलाई माया गर्नुहुन्छ, मन पराउनुहुन्छ । सबैको आर्शिवाद प्राप्त गर्ने देख्दा धेरै भोट ल्याएर जित्छु भन्ने लागेको छ ।’

प्रदर्शनीमार्गमा वलीले आफ्नो उम्मेदवारी किन भन्दै फ्लेक्स नै झुण्डाएकी छिन् ।

भित्र प्रतिनिधिमाझ उनको लोकप्रियता साँच्चै झल्किन्छ । निक्कै भलाद्मी देखिनेदेखि सबै उमेरसमूहका प्रतिनिधि उनीसँग सेल्फि खिचाउन पटकपटक अनुरोध गरिरहेका छन् । प्रतिनिधिको मायालाई उनी टार्न सक्दिनन् फेरि भोटको कुरा पनि छ, त्यसैले, आफ्नो कस्मेटिक मुस्कान क्यामेरा अघि फाल्छिन्।

तर, महाधिवेशनबाट अध्यक्षमा कमल थापा उदाउने लगभग पक्का भए पनि भृकुटीमण्डपमा चर्चा भने वलीकै बढी छ । सेलिब्रेटी हुनुको फाइदा उनी भरपूर उठाउँदै छिन् । राजनीति पनि गर्ने र सरकारी जागिर पनि खाने एकैपटक नहुने भन्दै आफूले जागिरबाट राजीनामा दिएको उनले बताउँदै आएकी छिन् ।