१८ पुस, काठमाडौँ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ र पोखरामा बसी अवैध रुपमा कल बाइपास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

व्युरोबाट खटिएको टोलीले कोटेश्वर, पोखरालगायत देशका विभिन्न भागमा बसेर कल बाइपास गरेको आरोपमा ललितपुरका राकेश गिरी, रुकुम घर भई काठमाडौँ कोटेश्वर बस्ने गणेशकुमार मल्ल र रुकुम घर भई पोखरा बस्दै आएका शिवचन्द्र रोक्कालाई पक्राउ गरेको हो ।

व्युरोले आज पत्रकार सम्मेलन गरी अवैधरुपमा कल बाइपास गरेको अवस्थामा ९६ पोर्ट बरामद गरेको जनाएको छ । पत्रकार सम्मेलनमा व्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले पछिल्लो समय नेपालमा कल बाइपासको घटना बढेको बताए । उनले भने– “दूरसञ्चार ऐनमा यससम्बन्धी प्रावधान कमजोर रहेको र यसबाट राम्रो आम्दानी हुने गरेकाले मानिसहरु पटक÷पटक यो धन्दामा लागेका छन् ।”

व्युरोले हालसम्म ९४ स्थानमा अवैध कल बाइपास गरेको आरोपमा ११० नेपाली र ३१ विदेशीसहित १४१ लाई पक्राउ गरेको जनाएको छ भने रु ११ अर्ब ६८ करोड ३८ लाख बिगो मागदाबी लिइएको छ ।

यस्तै व्युरोले दलालसँग मिलेर नक्कली जग्गाधनी बनाई जग्गा बिक्री गरेको आरोपमा मालपोतका शाखा अधिकृत मीनबहादुर भट्टराईसहित तीनजनालाई पक्राउ गरेको छ ।

विसं २०६६ मा भट्टराई काठमाडौँ मालपोत कार्यालयमा रहँदा चितवनका लोकेन्द्रराज पाठकको नाममा रहेको जग्गा पाठकको भतिजा जीवनराज पाठकको नाममा नागरिकता बनाई बिक्री गराउन लागेको आरोपमा पक्राउ गरेको हो ।

उनीसँगै जग्गा दलालीमा संलग्न मोरङका देवेन्द्र थापा, इटहरीका नगेन्द्र कार्कीलाई समेत प्रहरीले पक्राउ गरेको छ । व्युरोका प्रहरी नायब महानिरीक्षक सिलवालले धेरै नाफा कमाउने उद्देश्यका साथ कर्मचारीसँग मिलेर ठगी गरेको बताए । रासस