२१ वैशाख, काठमाडौँ ।

स्थानीय तहको निर्वाचनसँग सम्बन्धित विषयमा आएका ६०० भन्दा बढी प्रश्न र गुनासोलाई निर्वाचन आयोगले कल सेन्टरमार्फत तत्कालै सम्बोधन गरिएको जनाएको छ ।

उक्त सेन्टरका संयोजक विशकसेन ढकालका अनुसार मतदाता नामावली, मतदाता शिक्षा, आचारसंहिता र निर्वाचन प्रक्रियासँग बढी चासो राखेर मतदाताबाट जिज्ञासा आएको थियो ।

मतदाता नामावलीमा नाम नभेटिएको, वडा फरक परेको, मतदाता परिचयपत्र कसरी प्राप्त गर्ने, नामावलीको सूची कहाँबाट लिने, पर्यवेक्षक कसरी हुने, पेस्की फर्छयौट भइनसकेको व्यक्ति उम्मेदवार हुन पाउने कि नपाउनेजस्ता विषयको जानकारी कल सेन्टरबाट तत्काल दिने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले कल फ्री नम्बर १६६००१४४२२२ मा डायल गरी निर्वाचनसम्बन्धी गतिविधिबारे बिहान ८ देखि बेलुकी ८ बजेसम्म जानकारी लिने व्यवस्था गरेको छ । उक्त कल सेन्टर आगामी असार ३ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । सेन्टरमा दैनिक एक सयको हाराहारीमा प्रश्न आउन थालेको छ । रासस