१२ साउन, काठमाडौं।

पार्टी फुटाएसंगै भाउन्निएका उपेन्द्र यादव आरोप लगाउँथे, त्यो गच्छदार होइन, गद्दार हो। पार्टी फुटाउँदाको तुष यादवमा कतिसम्म बाँकी रहेछ भने गत शनिबार संसद्मा प्रधामन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव चल्दै गर्दा प्रचण्डलाई मुसाबाट सजग रहन सुझाए। त्यसकै अघिल्लो दिन मात्र गच्छदारले ओली सरकालाई दिएको समर्थन फिर्ता लिएका थिए।

शनिबार नै अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शेखर कोइरालासंग गफिदैँ थिए, उपेन्द्र। ‘यसपटकको सरकारमा पनि उही सामेल हुन्छ, मधेसको नाममा त्यसैले खाओस्।’ हुन पनि सत्ता भनेपछि लिसोझैँ टाँसिने गच्छदारले ०४८ सालयता एकपटक राज्यमन्त्रीसहित ११ पटक मन्त्री पड्काइसकेका छन्।

०४८ सालमा गिरिजा प्रधानमन्त्री हुँदा सञ्चारराज्यमन्त्री हुँदै सत्ताको स्वाद चाखेका गच्छदार ०५२ सालमा देउवा नेतृत्वको सरकारमा निर्माण तथा यातायात, ०५४ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा निर्माण तथा यातायात, ०५५ सालमा गिरिजा प्रधानमन्त्री हुँदा उही मन्त्रालय,  सन्तनेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा पर्यटन, नागरिक उड्डयन र जलस्रोतमन्त्री बन्न भ्याए। ०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा जलस्रोत, ०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा भौतिक योजना, ०६६ सालमा माधवकुमार नेपालको नेतृत्वमा उही भौतिक योजना, ०६८ सालमा बाबुराम भट्टराईको नेतृत्वमा उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको स्वाद चाखेका उनले केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत भौतिक योजना मन्त्रालयमा कब्जा जमाए। ११ पटक मन्त्री बन्दा ६ पटक भौतिक योजना मन्त्रालय हात पारी घर घडेरी त कति जोडे कति ! आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।