“प्लेटको आकार र रङ्गले धेरै फरक पर्दो रहेछ!”

-कुशल श्रेष्ठ

के हामीले खाना खाने प्लेटको रङ्गले कति खाइन्छ भन्ने कुरामा फरक पर्दछ? ‘डा. ब्रायन वानसिङ्क’ र ‘डा. कोयर्ट भ्यान इट्टरसम’ले गरेको एक नयाँ अनुसन्धानले ‘फरक पर्दछ’ भन्ने कुराको पुष्टि गरेका छन्। अथवा, ठ्याक्कै भन्नुपर्दा तपाईँको खाना र प्लेटको रङ्गको अन्तरले गर्दा तपाईँमा एकप्रकारको दृष्टिभ्रम पैदा गर्दछ, जसलाई ‘डेलबौफ इल्युजन’ (Delboeuf illusion) भनिन्छ। यसको नाम चर्चित बेल्जियन वैज्ञानिक ‘डेलबौफ’को नामबाट साभार गरिएको हो, जसले यस्तो कुरा पत्ता लगाएका थिए- “एउटै केन्द्रविन्दु भएको दुईवटा गोलाकारलाई हेर्दा, यदि बाहिरी गोलाकारको आकार बढाउँदै लैजाने हो भने, भित्री गोलाकारको आकार घट्दै गएको जस्तो भान हुन्छ।” तर यो कुरा र प्लेटको रङगको सम्बन्ध कस्तो छ भनेर सोचिरहनुभएको होला, हैन?chowmein in white and red color plate

सन् २००६ मा गरिएको अनुसन्धानलाई निरन्तरता दिँदै वानसिङ्ग र भ्यान इट्टरसमले फेरि नयाँ परीक्षणहरू गरेका थिए। यस परीक्षणमा खाना दिने व्यवहार र त्यसबाट हुन सक्ने दृष्टिभ्रमको बारेमा अनुसन्धान भएको थियो। यी नयाँ परीक्षणहरूमा, उनीहरूले ‘प्लेट र खानाको रङ्गको अन्तर’ अनि ‘प्लेट र टेबलमा राखिने लुगाको रङ्को अन्तर’ले खाने बानीमा कस्तो असर पर्दछ भन्ने बारेमा पनि अनुसन्धान गरेका थिए।

रङ्ग अन्तरको असर कस्तो हुन्छ भनेर परीक्षण गर्नको लागि उनीहरूले न्यूयोर्कको आफ्नै कलेजमा भेट-सम्मेलन गराएका थिए, जहाँ उनीहरूले अनुसन्धान गर्ने तरखर गरेका थिए। त्यहाँ आएकामध्ये ६० जनालाई दुई भागमा विभाजन गरिएको थियो र तिनीहरूलाई बफे सिस्टममा कि त पास्तासँग टोमेटो सस कि त पास्तासँग एल्फ्रेडो सस खाने अनुमती दिइएको थियो। त्यहाँ उनीहरूले दुई वटा रङ्गको प्लेटहरू मात्रै राखेका थिए- रातो र सेतो। ती सहभागीहरूले आ-आफै आफ्नो खाना आफूले मन लागेको रङ्गको प्लेटमा खाना हाले र हरेकको खानाको मात्रा कति छ भनेर नापियो।

अनुसन्धानकर्ताहरूले यसबाट के पत्ता लगाए त? यस नतिजाले उनीहरूले गरेको परिकल्पनाको पुष्टि गर्यो- जसले सेतो प्लेटमा पास्ता र एल्फ्रेडो सस हालेर खाए, उनीहरूले रातो प्लेटमा पास्ता र टोमेटो सस हालेर खाने सहभागीहरूले भन्दा २२ प्रतिशत (३२ ग्राम) बढी खाएका थिए। अब विचार गर्नुहोस्, दैनिक त्यस्तै अन्तरमा खाने हो भने कस्तो असर पर्दछ? यससँगै अनुसन्धानकर्ताहरूले प्लेट, खाना र टेबुलमा राखिने लुगाको रङ्गको अन्तर कम गर्दै जाने हो भने खाना खाने मात्रा १० प्रतिशतले बढ्दै जान्छ भनेर पनि पत्ता लगाएका थिए।food in a different color plate

साथसाथै, वानसिङ्क र भ्यान इट्टरसमले जति ठूलो प्लेट भयो, त्यति नै थोरै खाना दिए जस्तो लाग्ने तथ्यको पनि पुष्टि गरेका थिए। मानिसहरूलाई ‘डेलबौफ इल्युजन’को बारेमा जानकारी हुँदाहुँदै पनि यस्तो भ्रम सिर्जना हुने कुराको खुलासा उनीहरूले गरेका थिए। “त्यसैले खाना खाने बेला यो ‘डेलबौफ इल्युजन’लाई विचार गरेर सोही अनुरूपको वातावरण सिर्जना गर्ने हो भने, त्यसबाट हामीले धेरै फाइदा लिन सक्छौँ”- वानसिङ्क भन्छन्।