काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारप्रति सरकारको नेतृत्व गरिरहेका सांसदहरुले व्यंग्य गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद महेश बस्नेतले काँग्रेसको छायाँ सरकार २०-३० वर्ष टिकोस् भन्दै ब्यंग्य गरे । सत्ताको स्वादबाहिर बस्नै नसक्ने कांग्रेसले छाया सरकार गठन गरेको भन्ने कुरा आइरहेपनि आफूलाई त्यस्ताे नलागेको उनको भनाइ थियो। उनले कांग्रेसले सरकारसँग संवाद र सहकार्य गर्नका लागि नै छायाँ सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताए।

संवाद र सहकार्यको लागि नै छायाँ सरकार गठन गरेको होला। संवाद र सहकार्य अगाडि बढाओस्। रचनात्मक प्रतिपक्ष भूमिका र आलोचनात्मक समर्थन गरेर अगाडि बढोस्, बस्नेतले भने, ४८ सदस्यीय मन्त्रिमण्डल गठन भएको रहेछ। कार्यकाल २०-३० वर्ष रहोस्, शुभकामना । बस्नेतले ४८ सदस्यीय भनेपनि काँग्रेसले ५८ सदस्यीय छायाँ सरकार गठन गरेको छ ।