१२ जेठ, बैतडी । नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ ।

बैतडीका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकाङ्क्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिमा नामावली पठाएको काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । उनले एक दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लागेर आउने बताए ।

नेपाली काँग्रेस बैतडीले सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक अरु कुनै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । ८४ वटा वडामा भने सबै उम्मेदवारको टुङ्गो लागेको कोषाध्यक्ष पाण्डेयले बताए । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा मेयरका लागि १४ जना आकाङ्क्षी देखिएका छन् ।

दशरथचन्द नगरपालिकामा प्रमुख पदमा जिल्ला सभापति नरेन्द्रसिंह थापा, हर्कबहादुर चन्द, शिवराज भट्ट, प्रताप ठगुन्ना, जनकराज भट्ट, पुरनचन्द्र लेखक, भीमबहादुर चन्द, देवु ठगुन्ना, यज्ञराज पन्त, लालबहादुर चन्द, दौलतसिंह थापा, टेकराज जोशी र भीमदत्त पाण्डेयको नाम सिफारिस गरिएको छ ।

यसैगरी, उपप्रमुखमा मीना चन्द, तुलसी ठगुन्ना र हरिप्रिया भट्टको नाम सिफारिस गरिएको छ । यस्तै, मेलौली नगरपालिकामा मेयर पदका लागि शेरबहादुर चन्द, प्रेमबहादुर चन्द (आगर), प्रेमबहादुर चन्द (सम्राट), श्रवण ठगुन्ना, गम्भीरबहादुर चन्द, तारादत्त भट्ट, कृष्णसिंह नायक, महेशदत्त भट्ट, जनकराज भट्ट, ईश्वरदत्त भट्टको नाम सिफारिस गरिएको छ ।

यस्तै, उपप्रमुखमा सरस्वती चन्द, पार्वती चन्द, मञ्जु विष्ट, लक्ष्मी भट्ट र राधा ओझाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस, बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिए ।

यस्तै, पाटन नगरपालिकाको प्रमुखका लागि पूर्व सहायक मन्त्रीसमेत रहनुभएका केशव चन्द र नरेन्द्रसिंह विष्टको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा सरस्वती कोली, सरस्वती जोशी र जानकी भट्टको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।

यसैगरी, जिल्लाको पुरचौडी नगरपालिकामा पनि उम्मेदवार छनोट गर्न नसकेपछि काँग्रेसले सो नगरपालिकाबाट पनि प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । प्रमुखका लागि दीपकबहादुर बम, लालबहादुर बम, मोहनबहादुर कुँवर, दलबहादुर विष्ट र प्रोहित बडूको नाम सिफारिस गरिएको जिल्ला सचिव विष्टले जानकारी दिए ।

यस्तै, उपप्रमुखमा भने मीना धानुक, शोभाकुमारी धानुक र उत्तरा नेपालको नाम सिफारिस गरिएको उनले बताए । यस्तै, सिगास गाउँपालिकामा अध्यक्ष पदका लागि खगेन्द्रसिंह धामी, हरिसिंह धामी र केदारनाथ अवस्थी आकाङ्क्षी देखिएपछि तीनैजनाको नाम सिफारिस गरिएको छ ।

उपाध्यक्ष पदका लागि द्रोपती चन्द, सुमित्रा ऐर र तुलसी साउदको नाम सिफारिस गरिएको छ । यस्तै, दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका लागि चन्द्रसिंह भाट, देवराज जोशी, गोपालसिंह कार्की, हेमराज जोशी, शिवराज भट्ट, घनश्याम भट्ट, डम्मर ठगुन्ना र पृतबहादुर विष्टको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । उपाध्यक्ष पदका लागि बिस्ना जोशी र धनमाया ठगुन्नाको नाम सिफारिस गरिएको छ ।

यसअघि उम्मेदवारमा सहमति भइसकेको भनिएको डिलाशैनी गाउँपालिकामा पनि अन्तिममा आएर विवाद भएपछि अध्यक्ष पदका लागि कर्णबहादुर राना र धनबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।

केन्द्रमा सिफारिस गरिएका नाममध्ये एकदुई दिनमै उम्मेदवारको टुङ्गो लाग्ने नेपाली काँग्रेस, बैतडीले जनाएको छ । नेताहरु पदका लागि धेरै आकाङ्क्षी देखिएपछि कार्यकर्ता भने निराश देखिएका छन् ।

अन्य पार्टीले उम्मेदवारको छनोट गरी प्रचारप्रसारमा तल्लिन भएका बेला काँग्रेसले उम्मेदवार नै छनोट गर्न नसक्दा कार्यकर्ता निराश बनेका हुन् । रासस