२८ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन अस्वभाविक र अपवित्र रहेको बताएका छन् ।

चितवनको नारायणगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भरतपुर महानगरपालिकाको तालमेल काँग्रेसका लागि प्रत्युत्पादक हुने समेत बताए । काँग्रेसले माओवादीलाई नाम्लो लगाएरै बोकेको छ, ओलीले भने, यसले काँग्रेसलाई फाइदा गर्दैन ।

चितवनको बाँदरमुढे घटना ताजै रहेको भन्दै अध्यक्ष ओलीले काँग्रेस कार्यकर्तालाई पनि झोक्राएर नबस्न आग्रह गरे ।तालमेलले काँग्रेसलाई झन् कमजोर बनाएको भन्दै अाेलीले काँग्रेस कार्यकर्तालाई घुमाउरो पारामा नेतृत्व विरुद्ध उत्रन उकासे ।

अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरीलाई मेयर बनाएको भन्दै उनले भने, माओवादीले आफ्ना नातागोता बाहेक अरुलाई कहिल्यै अगाडि ल्याउन चाहँदैन ।’

सभालाई एमाले महासचिव इश्वर पोखरेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतले सम्बोधन गरेका थिए । भरतपुरमा काँग्रेस माओवादीको गठबन्धनबाट मेयरमा प्रचण्डपुत्री रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली प्रतिष्पर्धामा छन् ।