१४ फागुन, काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तत्काल बोलाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गरेका छन ।

महाराजगन्जस्थित महामन्त्री डा शशाङ्क कोइरालाको निवासमा आज बसेको केही नेताहरुको बैठकले पार्टी केन्द्रीय समिति बैठक बोलाउन माग गरेको केन्द्रीय सदस्य बद्री पाण्डेले  जानकारी दिए ।

बैठकले सरकार सञ्चालन, भ्रातृ संस्था परिचालन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका विषयमा छलफल गर्न अविलम्ब केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई लिखितपत्र बुझाउने निर्णय गरेको थियो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलगायत केन्द्रीय सदस्यको उपस्थिति थियो । संविधान संशोधनमार्फत मधेस समस्या समाधान गरी तीन तहको निर्वाचन गराउन व्यवस्थापिका–संसद्को ठूलो दलको नाताले नेतृत्वदायी भूमिका निर्वाह गर्न छिटो बैठक बोलाएर छलफल गरी ठोस निर्णय लिइनुपर्ने विषय पत्रमा उल्लेख छ ।

बैठकमा सरकार सञ्चालन, स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत महत्वपूर्ण विषयमा केन्द्रीय समितिमा छलफल नगरी पार्टी नेतृत्वले गरेको गतिविधिप्रति उपस्थित केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेको बताइएको छ । पत्र आजै सभापति देउवालाई बुझाइएको वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । रासस