९ असोज,खोटाङ (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस खोटाङले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

केन्द्रले आगामी असोज १७ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएपछि जिल्ला कार्य समितिको दिक्तेलस्थित वी.पी स्मृति भवनमा दुई दिनसम्म बसेको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्ववन राज्यमन्त्री शिवकुमार बस्नेत, राज्यमन्त्री सर्वधन राई, सांसद सरस्वती बजिमय र चिकित्सक केके राईको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ पूर्वसभासद् हिरा गुरुङ, नवराज केसी, योगेन्द्र राई र पदम निरौलाको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ । प्रदेशसभातर्फ १ नं प्रदेशका लागि प्रत्यक्षतर्फ जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, युवानेता सुवासकुमार पोखरेल, दिनेश राई, वीरकाजी राई, जितेन्द्रसिं ठकुरी र भगवती निरौलाको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ ज्ञानेन्द्र जोशी, जनक कार्की, फटिककुमार श्रेष्ठ, चक्रकुमार राई, डा राजकुमार राई, भक्तजङ्ग राई, रोजन राई, दुरेन राई, शान्तिदेवी राई, पेशल राई, दुर्गाप्रसाद घिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवी रेग्मी र उमेशचन्द्र आचार्यको नाम सिफारिस गरिएको छ ।

दुई नम्बर प्रदेशतर्फ प्रत्यक्षमा पूर्वसभापति विष्णुकुमार राई, महाअधिवेशन प्रतिनिधि रविप्रकाश राई, महेन्द्र कटवाल र रमेश खड्काको नाम सिफारिस भएको स्रोतले जनाएको छ । समानुपतिकतर्फ तीर्थराज भट्टराई, केशवराज कार्की, कमला राई, जीवन राई, वसन्त राई, सुमनबाबु आचार्य, रामकुमारी राई, राम साम्पाङ राई, देवी राई, भरत पोखरेल, खेमबहादुर खड्का र पे्रमकुमार कटवालको नाम सिफारिस भएको बैठकमा सहभागी युवानेता श्यामकुमार राईले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयले गरेको परिपत्रअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि प्रत्यक्षमा एक महिलासहित तीन र समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि निर्वाचनमा भाग लिने नेताको नाम धेरै भएपछि जम्बो टोलीको नाम सिफारिस गरेको छ । काँग्रेसका अनुसार नाम सिफारिस भएका नेतामध्ये टिकटको बाजी कसले मार्ने भन्नेमा काँग्रेस नै अन्योलमा छ ।

नाम सिफारिस भएका नेतालाई आ–आफ्नो तर्फबाट टिकटका लागि लबिङ गर्न बाटो खुला भएको छ । जिल्ला सभापति नरेशकुमार श्रेष्ठका अनुसार अन्य निर्णय पत्रकारसम्मेलनमार्फत जानकारी दिने बताइएको छ ।