२ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गरेका छन ।

विसं २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि आफूले गरेका कामको सम्पूर्ण जानकारी उनले आफ्ना मतदातालाई दिएका हुन ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले सार्वजनिक गरेको विकास दस्तावेजमा आफ्नो निर्वाचन क्षेत्र नं ४ मा सडक विस्तार र सुधारमा मात्रै पाँच अर्ब भन्दा बढी रकम विनियोजित भएको उल्लेख गरिएको छ ।

उनले भने, “चार वर्षसम्म यस क्षेत्रको जनप्रतिनिधि भएर मेरो प्रयासमा यस क्षेत्रको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणमा भएका काम र विनियोजित बजेटबारे मतदातालाई जानकारी गराएको छु ।”

काठमाडौँ क्षेत्र नं ४ को सडक निर्माणमा मात्र रु पाँच अर्बसहित अन्य विकासका लागि अर्बांै रुपैयाँ विनियोजित भई निर्माण कार्य अघि बढेको दस्तावेजमा उल्लेख छ ।

उनले धोबीखोला करिडोरको गोपीकृष्णसम्म कालोपत्र गर्न र गोपीकृष्णदेखि चुनीखेल भद्रकालीसम्म ट्र्याक खोल्न करिब रु एक अर्ब विनियोजन भएर काम भइरहेको जानकारी दिए । उनका अनुसार काठमाडौँ क्षेत्र नं ४ मा सानाठूला गरी १५६ वटा योजना सञ्चालनमा रहेका छन् ।

दस्तावेजमा सडक योजनाअन्तर्गत काठमाडौँ–४ मा सुन्दर बस्ती सडकका लागि रु २८ करोड आठ लाख ६९ हजार विनियोजन भएर निर्माणको काम भइरहेको उल्लेख छ ।

त्यसैगरी, धोबीखोला करिडोरअन्तर्गत शंखमुलदेखि गोपीकृष्ण, कालोपुलसम्म करिब रु ३५ करोड, गोपीकृष्णदेखि उत्तरतर्फ चुनिखेल भद्रकालीसम्म दायाँबायाँ पर्खाल लगाउन र ट्र्याक निर्माण गर्न रु ६० करोड रहेको छ ।

कपन कृष्णमन्दिर–चुनिखेल–पौराणिक मार्गमा रु एक करोड, आनिगुम्बा–कृष्णमन्दिर उकालो ढलानमा रु एक करोड, कपन खरिबोट–पैयुँटार–शहिद पार्क सडकमा रु एक करोड लागतमा निर्माण भइरहेको नेता थापाले जानकारी दिए ।