४ जेठ, काठमाडौँ ।

मत गणनाको पछिल्लो परिणामाअनुसार गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेस र बूढानीलकण्ठ नगरपालिकामा नेकपा (एमाले)को अग्रता रहेको छ ।

गोकर्णेश्वरको १ देखि ५ नं वडासम्मको मतगणना सकिँदा प्रमुखमा काँग्रेसका सन्तोष चालिसेले पाँच हजार २७८ मत प्राप्त गरी अग्रस्थानमा छन्। एमालेका पुण्यप्रसाद चौलागाईंले चार हजार ४८६ मतका साथ दोस्रो स्थानमा छन्।

उपप्रमुखमा काँग्रेसकी शान्ति नेपालले पाँच हजार २२९ र एमालेकी शान्ति श्रेष्ठले चार हजार ६३२ मत पाएकी  नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले राससलाई जानकारी दिइन । नगरको वडा नं १, ३ र ५ मा काँग्रेसले वडा अध्यक्ष जितेको छ भने २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४ मा एमालेले वडाध्यक्ष जितेको छ ।

नौवटा वडा रहेको नगरपालिकाको अहिले ६ नं को मतगणना भइरहेको छ ।

यसैगरी बूढानीलकण्ठ नगरपालिकामा १० हजार ३४२ मत गन्दा प्रमुखमा एमालेका उद्धवप्रसाद खरेलले चार हजार १४३ मत ल्याई अग्रस्थानमा छन् । काँग्रेसका राजु श्रेष्ठले दुई हजार ९७० मत पाएका छन् । माओवादीका रवीन अधिकारीले एक हजार ३०४ र राप्रपाका सानुकान्छा श्रेष्ठले ९५५ मत पाएको नगर निर्वाचन अधिकृत सुरेश नेपालले जानकारी दिए।

उपप्रमुखमा एमालेकी रमादेवी राईले चार हजार ४५९, काँग्रेसकी सुभद्रा खड्काले तीन हजार ६४, माओवादीकी हेमा अधिकारीले एक हजार २४० मत पाएका छन् ।

नगरपालिकाका १३ वटा वडामध्ये अन्तिमतिरबाट गन्दा हालसम्म १३, १२ र ११ गरी तीनवटा वडा सकी अहिले १० नं वडाको गणना भइरहेको छ । रासस