२६ कात्तिक, काठमाडौँ।

नेपाली काँग्रेसले सीमा नाकामा देखिएका समस्या समाधानका लागि पहल गर्न आज गर्ने भनिएको वार्ता मधेसवादी दलका नेता राजधानी बाहिर रहेकाले तिहारपछि सरेको छ ।

बुधबार एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा काँग्रेसको मध्यस्थतामा मधेसवादी नेतासँग वार्ता प्रक्रिया अगाडि बढाई समस्या समाधान गर्ने सहमति भएअनुरुप आज वार्ताको मिति तय भएको थियो।

काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग पनि छुट्टाछुट्टै भेट गरी आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्न वार्तामार्फत पहल गनुपर्ने धारणा राखेको थियो । काँग्रेसले आज मधेसी मोर्चासँग छुट्टै छलफल गरी एमाओवादीलाईसमेत सहभागी गराएर वार्तामा बस्ने सहमति भएकामा वार्ताको तिथि सरेको हो ।

“मधेसवादी दलका नेता तिहार मनाउन काठमाडौँ बाहिर गएकाले आज वार्ता हुन सकेन, अब भाइटीकालगत्तै वार्ता हुन्छ, वार्ताबाटै समस्याको समाधान खोजिनेछ”– काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले भने । रासस