५ मंसिर, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले नेपाली कांग्रेसमा जनलहर देखेर प्रतिपक्षीले भौतिक आक्रमण सुरु गरेको आरोप लगाएकी छन ।

तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी नेतृ गुरुङले सोमबार लालीगुराँस नगरपालिकाको टुटेमा आयोजित टोलस्तरीय चुनावी सभामा बोल्दै कांग्रेसको जनलहरलाई प्रभावित पार्न प्रतिपक्षीले आक्रमणको प्रयास गरेको बताएकी छन ।

कांग्रेसले चुनावी कार्यक्रमका लागि तयार गरेको कार्यक्रमस्थल लालीगुराँस नगरपालिका–१ स्थित टुटेबजार नजिकै सोमबार विहान शंकास्पद विष्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको थियो । सो शंकास्पद बस्तुहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कांग्रेस नेतृ गुरुङले कांग्रेसको राम्रो पकड सो क्षेत्रमा त्रास फैलाउनका लागि बाम–गठबन्धनले शंकास्पद बस्तुहरु राखेर तर्साउन प्रयास गरेको बताइन् ।