१३ वैशाख, काठमाडौं
भूकम्प पीडाले थलिएका नेपालीलाई जिउने हक नै समात्त पार्नेगरी नाकाबन्दी गर्दा पनि स्पष्टसँग भारतसँग बोल्न नसकेको नेपाली कांग्रेसले अहिले आएर भने भारतले नाकाबन्दी गरेको स्वीकारेको छ । पटकपटक भारतले गरेको नाकाबन्दीका विषयमा कुरा उठे पनि कांग्रेस नेतृत्वले स्पष्ट शब्दमा नाकाबन्दी नभनी सीमामा अवरोध भन्दै आएको थियो । तर, अहिले घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यको नेतृत्वमा बनेको समितिले नाकाबन्दी होइन, अमानवीय नाकाबन्दी भन्दै प्रष्ट रुपमा लेखेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार ३१ वैशाखको निर्वाचनलाई लक्षित गर्दै यो घोषणापत्र सार्वजनिक गरेका हुन् ।

स्थानीय तहको घोषणापत्रमा कांग्रेसले भारतबाट भएको अमानवीय नाकाबन्दी समाप्त गर्न कांग्रेसले भारतसहितका अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर संवाद गरेको दाबी गरेको छ ।

भारतले गरेको नाकबन्दीबारे कांग्रेसले घोषणापत्रमा यस्तो भनेको छ :
संविधानसभाबाट संविधान जारी हुनुभन्दा अघि र पछि देश एकपटक पुनः मधेश र आदिवासी जनजाति आन्दोलनका कारण असहज अवस्थामा पुगेको थियो । विनाशकारी भूकम्पले अस्तव्यस्त भएको जन–जीवन सम्हालिन नपाउँदै नेपालको दक्षिणी सीमा क्षेत्रमा भएको निरन्तर नाकाबन्दीको दबाब र आन्दोलनबाट नेपाली जनता अत्यन्त आक्रान्त भएका थिए । नाकाबन्दी र महाभूकम्पको दोहोरो संकटको घडीमा पनि नेपाली कांग्रेसले आन्दोलनरत पक्षसँग निरन्तर संवाद गर्दै भूकम्प–पीडित जनताका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहयोग परिचालन गर्यो तथा सीमा क्षेत्रमा जारी अमानवीय नाकावन्दीको स्थिति समाप्त पार्न छिमेकी भारतसँग निरन्तर संवाद र अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने अभियानको नेतृत्व गर्यो ।
संविधानसँग सम्बन्धित असन्तोषलाई संवादद्वारा सहमतिमा पुगेर संविधान संशोधनको बाटोबाट समाधान गर्न सकिन्छ भनी नेपाली कांग्रेसले नै संविधान संशोधनको लोकतान्त्रिक प्रकियाको नेतृत्व गर्यो । फलस्वरुप संविधानको पहिलो संशोधनद्वारा समानुपातिक समावेशी प्रतिनिधित्वको मुद्दा मौलिक अधिकारको अंग बन्न गयो तथा भूगोलसँगै जनसंख्या समेत प्रतिनिधित्वको प्रमुख आधार हुने गरी नयाँ संविधान परिष्कृत र विकसित भयो । यो संशोधनपछि मधेश र अन्य आन्दोलन समेत शान्तिपूर्ण संवादको बाटोमा फर्किन र विश्वस्त हुन सके तथा देशमा जारी अमानवीय नाकावन्दी समेत तोडियो ।

यो पढ्नुस्

एमालेविरुद्ध आगो ओकलेको कांग्रेसले सहयात्री माओवादी र राप्रपालाई समेत छोडेन

कांग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठ)