१३ मंसिर, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस काम नलाग्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । कांग्रेस काम नलाग्ने भएकै कारण गणेशमान सिंहले जीवनको अन्तिम घडीमा पार्टी परित्याग गरेको उनको दाबी छ ।

‘तपाईंलाई सम्झाउन चाहन्छु, अलिक अगाडिदेखि कांग्रेस बिग्रियो । मेरो भनाइ मात्रै होइन यो,’ उनले भने, ‘१९९७ सालमा राणाविरुद्ध अन्दोलन गरेर गिरफ्तार भएर, भद्रगोल जेलबे्रक गरेर कांग्रेस बनाउने गणेशमानले आँसु खसाल्नुभयो । के कांग्रेस गतिलो भएर उहाँले छाड्नुभएको होला र ?’

वाम गठबन्धनले काठमाडाैँ क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभाका क्रममा ओलीले गठबन्धनका उम्मेदवार अनिल शर्मालाई विजयी गराउन आग्रह गरे । उनले निर्वाचनलाई ख्यालठट्टाका रूपमा लिन नहुने बताए । ‘देशको भविष्यलाई कता लाने भन्ने ऐतिहासिक प्रश्नको जवाफ यसले दिनेछ । त्यसैले विकास गर्ने पार्टीलाई मतदान गर्नुहोस् ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

उनले एमाले र माओवादीबीच एकीकरण हुनेमा शंका नगर्न आग्रह गरे । कार्यक्रममा एमाले नेता तथा काठमाडाैँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपालले स्थायी सरकार र देश विकासका लागि वाम गठबन्धनका पक्षमा भोट खसाल्न आग्रह गरे ।

त्यस्तै, विनाविभागीय मन्त्री जनार्दन शर्माले २२ वर्षदेखिको लोडसेडिङ अन्त्य भएको भन्दै स्विच अन गरेर भ्रष्टाचारीलाई खोज्न आग्रह गरे । ‘यो देशका दलालहरू कुना–कुनामा लुकेका छन् । उनीहरूलाई उज्यालोको माध्यमबाट खोज्नुस्,’ शर्माले भने । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार अनिल शर्माले मदन भण्डारीले जनतासँग गरेका प्रतिबद्धता आफूले पूरा गर्ने दाबी गरे । ‘यही क्षेत्रबाट मदन भण्डारी पनि उठ्नुभएको थियो, निर्वाचन पनि जित्नुभयो,’ शर्माले भने, ‘तर आफूले सोचेको काम पूरा गर्न नपाई हत्या भयो । उहाँले जनतासँग गरेका सबै प्रतिबद्धता म पूरा गर्छु ।’