११ मंसिर, नवलपुर ।
नेपाली काँग्रेसका महामन्त्री प्रा.डा.शशांक कोईरालाले नेपाली काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा ठूलो पार्टी हुने बताएका छन । नवलपुर जिल्लाको क्षेत्र नम्बर १ मा चुनावी अभियानका क्रममा आइतबार दलदलेमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले काँग्रेस प्रतिको आकर्षण बढेकाले पहिलो पार्टी हुने दावी गरे ।

’साम्यवाद रोज्ने कि लोकतन्त्र रोज्ने ?‘ भन्दा सबै जनताले लोकतन्त्र नै रोज्ने बताईरहेको भन्दै उनले बाम गठबन्धनका कारण पनि काँग्रेस बलियो हुन मद्दत पुगेको बताए । कोईरालाले भने “काँग्रेसभित्र देखा परेका गुट उपगुट पनि अहिले एक जुट भएकाछन् ।” बामपन्थि शक्ति एक भएपछि देशमा साम्यबादी खतरा आउन सक्ने भन्दै गुट उपगुटमा रहेको काँग्रेस र लोकतन्त्रबादी शक्तिहरु संगठित बनेको उनले बताए ।

उनले काँग्रेसले अबको १० वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने खाका तयार गरिसकेको बताउदै अब देश सम्बृद्धितर्फ जाने बताए ।नवलपुरबाट देशलाई उत्तर र दक्षिणी क्षेत्र जोड्ने सडक संञ्जाल निर्माणका लागि काम अघि बढिसकेको पनि उनले बताए ।

नारायणी नदिलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाउने, अन्तराष्ट्रिय स्तरको रंगशाला नवलपुरमा निर्माण गर्ने, नवलपुर क्षेत्रमा बढि दुर्घटना हुने भएकाले ट्रमा सेन्टर बनाईने लगाएतका योजना आफ्नो रहेको पनि उनले बताए ।

महामन्त्री कोईरालाले आफ्ना पिता विश्वेश्वरप्रसाद कोइरालाले आफु प्रधानमन्त्री हुदाँ सबै नागरिकको हैसियत आफुसरह बनाउने संकल्प लिएको स्मरण गर्दै समाजवादी चिन्तन बोकेको काँग्रेसले सबै नेपालीको हैसियत उच्च बनाउने लक्ष्य लिएको बताए ।