१४ फागुन, काठमाडौं ।
एक वर्ष नपुग्दै नेपाली कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग तीव्र असन्तुष्ट भएको छ । देउवाले पार्टीको कमाण्ड गरेको एक वर्ष पुग्न १० दिनमात्र बाँकी रहँदा पौडेल पक्षले उनीमाथि विषवमन नै गरेको छ ।

sher-bahadur-deuwa-ram-chandra-paudel

फाइल तस्बिर

पौडेल पक्षको शुक्रबार र शनिबार भएको भेलाले सभापतिको एकवर्षे कार्यकालमा उनी पार्टी र राष्ट्रिय राजनीति दुवैमा असफल भएको निष्कर्ष निकालेको हो । बरु उल्टै पार्टीका नेता कार्यकर्ताको शाख गिराउने किसिमले राजनीति गुटगट प्रवृत्ति देखाएको आरोप लगाएको हो ।

‘सभापतिले निर्वाचित भएपछि एक वर्ष बिताउनुभएको छ तर, उहाँको एक वर्ष उत्साहप्रद देखिएन’ पौडेल भेलामा सहभागी एक नेता भन्छन्, ‘हाम्रो छलफलमा सभापतिको शैली राम्रो नदेखिएको मात्र होइन, उहाँले पार्टी संचालनमा छल नै गर्नुभयो भन्ने निष्कर्ष निकालेका छौं ।’

देउवाले मन्त्री बनाउनेदेखि स्ववियु चुनाव र भागबण्डामा कांग्रेसले पाएको राजदुतको कोटामा आफूखुसी गरेको आरोप सो भेलाले लगाएको थियो । पौडेल पक्षको भेलाले यी सबै असन्तुष्टिको निरुपणको लागि छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने माग गरेको छ। सो मागलाई नेता रामचन्द्र पौडेलले लिखित ध्यानाकर्षण गराउँदै देउवासम्म पुर्याएका हुन् ।

तर, आफ्नो पक्षका भेलामा नेताहरुले सभापति देउवाविरुद्ध विषवमन नै गरे । एक वर्ष अघि देउवासँग पराजित पौडेल नै देउवाविरुद्ध खरो उत्रिन पुगे । पौडेलले सभापतिका रुपमा देउवा असक्षम सावित नै भएको आरोप लगाए । उनलाई नेता रामशरण महत, बलबहादुर केसी, मिनेन्द्र रिजाल, सरिता प्रसाईदेखि जीवन परियारसम्मले साथ दिएका थिए ।

आनन्द ढुंगानादेखि दिलेन्द्र बडु समेतले देउवाको उस्तै विरोध गरे । उनीहरुले संविधान संसोधनमा ठूलो पार्टी हुनुका नाताले पनि सभापतिको अग्रसरता र भूमिका नदेखिएको भनी प्रश्न उठाए ।

सबैभन्दा बढी आक्रोस त भागबण्डामा राजदुत सिफारिस गर्दा देउवाले चलखेल गरेकोमा थियो । भीम उदास, आशा लामा र रमेश कोइरालाहरु कांग्रेस नभएको भन्दै देउवाले आर्थिक चलखेलका कारण उनीहरुलाई सिफारिस गरिएको हुन सक्ने भन्दै भेलामा तीव्र शंका व्यक्त गरे ।

उनीहरुले सिफारिस सच्चाउनसमेत माग गरेको पौडेल भेलामा सहभागी भएका एक केन्द्रीय सदस्य बताउँछन् । अबको हप्ता १० दिनभित्र बैठक नडाक्ने हो भने उनीहरुले पार्टीमा हस्ताक्षर अभियान नै थाल्ने र देउवाविरुद्ध भण्डाफोर गर्नेसम्मको रणनीति बनाएका छन् ।