२८ साउन, काठमाडौ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले कांग्रेस-माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै भनिन्, ‘देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच देउवाका लागि पहिले वाचा गरेअनुसार सत्ता छोड्नुभयो ।’

स्वराजले अझ उत्साहित हुँदै थपिन्, ‘त्यसकारण अब अहिले देउवाजी सत्तामा हुनुहुन्छ । उहाँहरूबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंशा गर्छु । यो नेपालका लागि एकखाले नयाँ अध्याय हो ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसो भनिरहँदा कार्यक्रमका मुख्य अतिथि देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल मुस्कुराइरहेका थिए । स्वराजले भारतले नेपालको शान्ति, विकास र स्थिरता चाहेको बताइन् । ‘मोदीले सबका साथ सबका विकास भनेर भारतमा मात्र होइन छिमेकमा पनि त्यही कुरा लागू होस् भन्ने चाहनुभएको हो’, उनले भनिन् ।

नेपालले ब्यालेटबाट नभई बुलेटबाट शान्ति प्रक्रिया अघि बढाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा प्रशंशा गरेको स्मरण गरिन् । स्वराजले अंग्रेजले छाडेपछि भारतलाई अनपढ र गरिब मुलुकका रुपमा ब्रिटिसले लिएपनि हाल भारत आर्थिक र राजनीतिक हिसाबले सबल रहेको बताइन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले भारतसँग नेपालको सम्बन्ध बिशेष खालको रहेको बताए । उनले भने, ‘हाम्रो यो विशेष सम्बन्ध गहिरिँदै गएको छ ।’ उनले सबै पक्षको सहभागितामा संविधान कार्यान्वयन अघि बढाउन प्रतिबद्ध रहेको सन्देश स्वराजलाई दिए । नेपाल भारत सम्बन्ध बढाउन आफू यही महिना भारत जान लागेको उनले बताए ।

भारतीय राजदूत निवास परिसरमा आयोजित कार्यक्रममा देउवा, स्वराज, भारतीय राजदूतसंगै मञ्चमा थिए । तर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने सहभागिको अघिल्तिर राखिएको थियो । अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द दर्शक सहभागिको अन्तिम लहरमा थिए ।